सिन्धुलीका कारागारमा क्षमताभन्दा बढी कैदी

 पुस २८, २०७५ शनिबार १३:५६:४३ | बाबुराम देवकोटा

सिन्धुली – क्षमताको झण्डै ६ गुणा बढी राखिएकाले कारागार कार्यालय सिन्धुलीमा रहेका कैदीहरु भेडाबाख्राझै बस्न बाध्य भएका छन् ।

२५ जनाको क्षमता रहेको कार्यालयमा अहिले कैदी र बन्दी गरी १४२ जना र एकजना आश्रित बालबालिका समेत गरी १४३ जना बस्दै आएका छन् । जनसङ्ख्या बृद्धिसँगै अपराधका घटना पनि बढेकाले कैदीको चाप बढेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कारागारमा रहेका कैदीमध्ये अदालतले सजाय तोकेका ११० जना कैदी र पुर्पक्षका लागि थुनामा राखेका कैदीको सङ्ख्या ३२  रहेको छ । कैदीको सङ्ख्यामध्ये ११ जना महिला रहेका छन् ।

साँघुरो कोठामा क्षमताभन्दा बढी कैदी राखिएकाले कैदीले कठिनसँग रात काट्दै आएको अवैद्य गर्भपतनको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेकी शारदा बुढाथोकी बताउनुहुन्छ ।

‘मेरो दुई वर्षको छोरीसहित १२ जना महिला एउटा साँघुरो कोठाभित्र बस्नु परेको छ’, उहाँले भन्नुभयो, ‘अचेलको जाडो यही हो, कोठाभित्र घामको मुख देख्न पाइँदैन । गेटमा म्याट ओछ्याएर नानी लिएर सुत्ने गरेकी छु ।’

सुत्नको लागि कैदीलाई खाटको समेत व्यवस्था नभएको उनीहरुको गुनासो छ । जाडोको मौसम भएकाले महिला कैदीलाई दैनिक रुपमा दिउँसो एक÷डेढ घण्टा घाममा निकालेर राख्ने गरिएको कारागार कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेशकुमार झाले बताउनुभयो ।

चौकीदार बिदुर कार्की पनि लागुऔषधका थुनुवाहरुका कारण कैदीबन्दीको चाप बढेको बताउनुहुन्छ । झट्ट हेर्दा कारागार अपराधिले सजाय भुक्तान गर्ने ठाउँको रुपमा देखिए पनि सुधार गृहको रुपमा कैदीले महसुस गर्दै आएका उहाँको भनाई छ ।

वि.स.२०२५ सालमा निर्मित भवन जीर्ण बन्दै गएको र भूकम्पले समेत चिरा पारेकोले नयाँ भवन निर्माणका लागि आठ करोड ८८ लाख रुपैयाँको लागतमा डाँफे कन्ट्रक्सन धुलीखेलले ठेक्का पाएको कार्यालय प्रमुख(जेलर) मात्रिकाप्रसाद पहाडी बताउनुहुन्छ । तीन वर्षभित्र उक्त नयाँ भवन निर्माण गरिसक्नु पर्ने उहाँको भनाई छ ।

कारागार कार्यालय सुधार गृहको रुपमा विकास हुँदै गएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘साँघुरो नहोस भनेर ट्रष्ट थपेर कैदीलाई राखिएको छ । भित्रको वातावरण, सरसफाई सबै राम्रो छ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया