खप्तड आउने पर्यटक बढे

 माघ ३, २०७५ बिहिबार १०:४४:४८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । याे वर्ष अहिलेसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकाे र एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । 

निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महिनामा  दुई लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ । 

निकुञ्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति तीन हजार ३९० रुपैयाँका दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावरसमेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । 

निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाटसमेत पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय धनबहादुर विष्टले बताउनुभयो । 

खप्तड क्षेत्रमा पर्यटन गतिबिधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे (घरबास) सञ्चालन गर्न लागिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरमा घरबासको व्यवस्था मिलाउन लागिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

बगलेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने भएकाले घरबासका माध्यमबाट पर्यटकलाई सुविधा दिन स्थानीय घर छनोट गरिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया