दुर्इ वर्ष म्याद नाघेका सामग्री बेच्दै व्यापारी

 असार ५, २०७५ मंगलबार १९:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – व्यापारीले खाद्यान्न पसलहरुमा प्रशस्त मात्रामा म्याद गुज्रेका खाद्यान्न बिक्री वितरण गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सूर्यविनायक नगरपालिका क्षेत्रमा मंगलबार भएको बजार अनुगमनमा दुई वर्षदेखि म्याद गुज्रेको तेललगायतका खाद्यान्नहरु बिक्री गरेको पाइएको हो ।

भक्तपुरका प्रशासकीय अधिकृत रविचन्द्र मिश्रको नेतृत्वमा गएको टोलीले सल्लाघारी र कटुन्जे क्षेत्रमा रहेका किराना स्टोर, मिनी मार्ट, खाद्य स्टोरलगायत सात वटा पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा स्थानीय निकाय नगरपालिकामा दर्ता नभएको, आन्तरीक राजश्व कार्यालयमा दर्ता नभएको पसलहरु सञ्चालनमा रहेको पाइएको छ । पसलमा व्यवसायीहरुले तौल गर्ने तराजु नापतौल विभागबाट नविकरण नगरेको, मूल्य सूची नभएको अनुगमनमा भेटिएको छ । 

अनियमित रुपमा चलेको र किराना पसलमा मदिरा बिक्री गर्दै गरेका आरआर कोल्ड स्टोरका संचालकले अनुगमन टोली आएको देख्दा तुरुन्तै सटर लगाएर फरार भएका थिए । अनुगमन टोलीका प्रमुख मिश्रले अनुगमन टोलीलाई देख्दा सटर लगाएर फरार भएको जानकारी दिनुभयो । बजार अनुगमनमा गल्ती कमी कमजोरी भएका व्यवसायीहरुलाई कानुनी कारबाही गर्नुको सट्टा चेतावनी दिएर छाड्ने गरेको उहाँको भनाई थियो ।

टोलीले आरडि ग्यास स्टोर, अर्जुन स्टोर, दिव्य ज्योती स्टोर, गणपति नास्ता तथा मिठ्ठाई, न्यू ग्यास स्टोर, आरवी एसर किराना स्टोर र शुभलक्ष्मी खाद्यान्न सप्लायर्समा अनुगमन गरेको हो । बजार अनुगमन टोलीले कानुन बमोजिम दर्ता गर्न र अन्य आवश्यक प्रक्रिया ७ दिन सम्ममा पूरा गर्न निर्देशन दिएको छ ।   

अनुगमन टोलीले दुई वर्षदेखि म्याद गुज्रिएका विभिन्न कम्पनीका तेल, बिस्कुट, घीउ, पेय पर्दाथ नष्ट गर्नको लागि नियन्त्रणमा लिइएको टोली प्रमुख मिश्रले बताउनुभयो । अनुमगनमा टोलीमा जिल्ला प्रशासनका प्रनितिधि, सूर्यविनायक नगरपालिका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, र पत्रकारहरुको सहभागिता रहेको थियो । प्रशासनले एकसातासम्म अनुगमन गर्ने भएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया