पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई

 माघ २२, २०७५ मंगलबार ११:३४:३१ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – भूकम्पपछिको पुनर्निर्माणको जिम्मा स्थानीय तहले पाएका छन् । भूकम्पपछिको पुननिर्माणमा स्थानीय तहलाई जिम्मेवारी बनाउने सरकारी नीति अनुरुप नै सिन्धुली जिल्लामा रहेका नौ वटै स्थानीय तहलाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 

इकाइका अनुसार जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलाञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेक गाउँपालिकालाई बाँकी कामका जिम्मेवारी हस्तान्तरण गरिएको हो । 

जिल्लाका रहेका नौ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकिय प्रमुख र पुननिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको इकाइ प्रमुख देवनारायणप्रसाद यादवले बताउनुभयो । ‘अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक जनशक्ति स्थानीय तहमा पठाउने छ,’ उहाँले  भन्नुभयो, ‘प्राधिकरणबाट खटिएका कर्मचारीलाई स्थानीय तहले पुनर्निर्माणको काममा मात्रै लगाउनु पर्ने छ ।’ जिल्लामा रहेका कुल ३७ हजार ९१५ जना लाभग्राही मध्ये अहिलेसम्म १२ हजार १५६ भुकम्प पीडितले मात्रै निजी आवास बनाएका छन् ।

निजी आवास निर्माणका लागि कुल लाभग्राही मध्ये ३३ हजार ९०२ जनाले सम्झौता गरी पहिलो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये २६ हजार ३५९ जनाले दोस्रो किस्ता लगेका र दोस्रो किस्ता लागेका मध्ये पनि १४ हजार ७१२ जनाले तेस्रो तथा अन्तिम किस्ता रकम लगेका छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया