शून्य लागतमा नेपाली कामदार लैजान यूएई र ओमान सकारात्मक, थप छलफलपछि टुंगो लाग्ने

 माघ २२, २०७५ मंगलबार १२:२५:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएई र ओमान नेपालबाट शून्य लागतमा कामदार लैजान सकारात्मक देखिएका छन् ।

नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा दुवै देशले शून्य लागतमा कामदार लैजाने, न्यूनतम तलब सुविधाको प्रत्याभूति गर्ने लगायत विषयमा सकारात्मक प्रतिक्रिया जनाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

ओमान र यूएईसँग वार्ता गरी स्वदेश फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधिमण्डलका अनुसार श्रमिकलाई व्ययभार नपर्नेगरी तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गरी श्रम समझदारी गर्ने विषयमा दुवै देशले सकारात्मक धारणा व्यक्त गरेका छन् ।

दुवै देशसँगको वार्ता फलदायी भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले अघिल्लो हप्ता आइतबार र सोमबार ओमान तथा बुधबार र बिहीबार यूएईसँग पहिलो चरणको वार्ता गरेको थियो । 

दुवै देशलाई शून्य लागतमा कामदार लैजानुपर्ने, भर्ना प्रक्रिया पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउनुपर्ने, न्यूनतम तलव सुविधाको प्रत्याभूति गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका स्थापित सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यवसायिक श्रमिकको हक हित, व्यवसायिक स्वास्थ्य एवं सुरक्षा र असल कार्यवातावरण सुनिश्चित हुनुपर्ने प्रस्ताव गरिएको छ । 

यस्तै ओभरटाइम, कार्यस्थल बाहेकको समयमा हुने दुर्घटनाको पनि बिमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा बिदा दिनुपर्ने, महिला कामदारको हकमा विशेष व्यवस्था गर्नु पर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिन्डिकेट हुन नहुने जस्ता शर्त श्रम समझदारीमै उल्लेख गर्नु पर्नेमा नेपाली पक्षले जोड दिएको घिमिरेले जानकारी दिनुभयो । 

उहाँकाअनुसार श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुँच हुनुपर्ने लगायतका विषय पनि श्रम समझदारीमै सुनिश्चित गर्नु पर्ने प्रस्ताव गरिएको छ ।

थप छलफलपछि टुंगो लाग्ने

नेपाली प्रतिनिधिमण्डलका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव घिमिरेका अनुसार नेपालले उठाएका प्रायः सबै विषयमा ओमानी पक्षबाट सकारात्मक धारणा व्यक्त भएको छ । 

कुन कुन विषय समझदारी पत्रमा राख्ने, के कस्ता विषय रोजगारी करारमा समेट्ने र संयुक्त प्राविधिक समितिको कार्यक्षेत्र र जिम्मेवारी भित्र के कस्ता विषयलाई छाड्ने विषयमा दुवै पक्षले आआफ्नो देशका सम्बद्ध निकायसँग समेत समन्वय गरी छिटै टुंगोमा पुग्ने सहमति भएको छ । 

ओमानसँग नेपाली वार्ता टोलीले श्रम आप्रवासनका आधारभूत एवं महत्वपूर्ण पक्षहरु श्रम समझदारी पत्रमा नै समेटिनुपर्ने अडान लिएको छ ।

यस्तै यूएईसँगको वार्ता पनि निकै सौहाद्र्धपूर्ण, खुल्ला र सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ । प्रतिनिधिमण्डलका संयोजक घिमिरेका अनुसार १२ वर्षअघि सन् २००७ मा भएको श्रम समझदारीपत्रमा व्यापक सुधार गर्दै श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न दुवै देश तयार रहेका छन् । 

यूएई सरकारले जतिसक्दो चाँडो श्रम समझदारी गर्न तत्परता देखाएको उहाँले बताउनुभयो । कुन कुन विषय श्रम समझदारीपत्रमा खुलाउने भन्ने विषयमा भने थप छलफल गर्ने सहमति भएको छ ।

श्रम समझदारी पत्रमा श्रम आप्रवासनका महत्वपूर्ण विषयहरु छुट्दा समझदारीपत्रको कार्यान्वयनमा समस्या उत्पन्न हुनाको साथै नेपाली कामदारले गम्भीर समस्या भोग्नुपर्ने आवस्था आउन सक्ने भन्दै सबै आधारभूत पक्ष श्रम समझदारी पत्रमै समेट्नुपर्ने तर्फ नेपाली पक्षले विशेष जोड दिएको छ ।

युएईसँग एक चरणमा छलफल भइसकेपछि नेपाली टोलीले आफ्नो धारणा लिखित रुपमा नै बुझाएको छ । केही दिनभित्रमा यूएईको तर्फबाट नेपालको प्रस्तावका सम्वन्धमा लिखित रुपमै प्रतिकृया प्राप्त हुने अपेक्षा गरिएको पनि नेपाली टोलीले जनाएको छ ।

  
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया