अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – केही वर्षअघि न पर्याप्त पानी, न बिजुली, न सडक न त विद्यालय नै थियो, लमजुङको राइनासकोटमा । गाउँबेसी गर्न झनै समस्या ।
आवश्यक विकासका पूर्वाधारसमेत नहुँदा राइनासकोटका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्न थाले । गाउँ रित्तिँदै गयो । गाउँमा रहेका केही स्थानीय पनि गाउँ छोडी अन्तै बसाइँ सर्ने योजना बुन्न थाले ।
तर जब २०७२ साल वैशाख १२ मा नेपालमा विनाशकारी भूकम्प गयो । भूकम्पले गाउँमा रहेका सबै घरमा क्षति पुर्यायाे । घर निर्माणमा स्थानीयलाई समस्या नै पर्यो । तर स्थानीयको घर निर्माणमा सघाउन आइपुग्नुभयो, अमेरिकी नागरिक नतासा वाजनियाक । उहाँकै पहलमा राइनासकोटमा १४ घर ठडिए । डेढ करोड बढीको लगानीमा स्थानीय महत्व झल्कने भूकम्प प्रतिरोधी घर बने ।
रित्तिन लागेको गाउँ भूकम्प गएपछि जुर्मुराएको स्थानीय ओमकुमारी गुरुङले बताउनुभयो । ‘पानी, बिजुली, बाटोघाटोको समस्या । गाउँबेसी गर्न गाह्रो । त्यसैले गाउँबाट बसाइँ सरेर अन्तै जाने धेरै भए । गाउँ रित्तिनै आँटेको थियो । भूकम्प गएपछि गाउँ फेरि जुर्मुराएको छ’, ओमकुमारी भन्नुभयो, ‘भूकम्पले भत्केका घर निर्माणमा नतसाले सघाउनुभयो । उहाँ नभएको भए, उहाँको सहयोग नपाएको भए सायद गाउँ रित्तिसक्थ्यो होला । उहाँको गुन कहिल्यै बिर्सन सक्दैनौँ ।’
होमस्टेले बदलेको जीवन
पुनर्निर्माणपछि गाउँमा होमस्टेसमेत सञ्चालनमा आएको छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीयले अहिले होमस्टे व्यवसायबाटै मनग्य कमाएका छन् । यसैबाट सजिलैसँग जीवन चलाएका छन् ।
यहाँका स्थानीयले पहिले खेतीपाती गर्थे । उत्पादनले तीन÷चार महिना पनि थेग्थेन । अहिले होमस्टे चलाएपछि यहाँ विभिन्न ठाउँबाट पाहुना ओइरिन्छन् । होमस्टे सञ्चालन गरेसँगै स्थानीयको जीवनस्तर उकासिएको छ ।
‘पहिले त गाह्राे थियो । अहिले होमस्टे चलाएपछि त जीवन चलाउन निकै सहज भएको छ’, राइनासकोटमा होमस्टे चलाउँदै आउनुभएकी ओमकुमारीले भन्नुभयो ।
गाउँमा दैनिक १२ जना पर्यटक आउने उहाँ बताउनुहुन्छ । ‘कहिले एकदमै धेरै पर्यटक आउनुहुन्छ । दिनमा कम्तिमा पनि १०÷१२ जना पर्यटक त आउनुहुन्छ’, उहाँले थप्नुभयो, ‘पर्यटकको चाप बढेको समयमा त महिनामा ५०÷६० हजार सम्म आम्दानी हुन्छ ।’
राइनासकोट आउँदा आनन्द महसुस हुने सुन्दरबजार नगरपालिका–९, का रामहरि भट्टराईले बताउनुभयो ।
‘प्राकृतिक सांस्कृतिक हिसाबले निकै धनी छ राइनासकोट । यहाँ आउँदा साह्रै रमाइलो अनुभूति हुन्छ’, दोश्रोपटक राइनासकोट पुग्नुभएका उहाँले भन्नुभयो ।
प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि राइनासकोट एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको राइनासकोटमा भेटिनुभएका भोटेओडारका रेवतीकुमार श्रेष्ठले बताउनुभयो ।
गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थाले
गाउँमा १४ घरधुरी रहेका छन् । १० घरले होमस्टे चलाएका छन् । राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न ठाउँबाट दैनिक पर्यटकहरु आउँछन् ।
होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एक रात बसेको पर्यटकले ४ सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एक छाक खानाको ३ सय रुपैयाँ, र सादा खानाको १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।
गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्य कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् । ३ घरधुरी गाउँ फर्किसकेका छन् । गाउँमा अहिले पानी, बिजुलीको सुविधा छ । इन्टरनेट पनि छ । कच्ची भए पनि सडक छ ।
‘हिजो हेरी आज गाउँमा सुविधा छ । पर्यटन विकासको सम्भावना छ । त्यसैले पनि हिजो गाउँ छोडी गएकाहरु पनि अहिले धमाधम गाउँ फर्कन थालेका छन्’, ओमकुमारीले भन्नुभयो, ‘३ घरधुरी त गाउँ फर्किसके । उनीहरुले गाउँमै घर बनाउँदै छन् ।’
केही उच्च ठाउँमा रहेको राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखै अगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मर्स्याङ्दीको लोभलाग्दो दृश्य, बाइसेचौबिसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरुको अवलोकन गर्न सकिन्छ ।
सर्वोदय सेवा आश्रमका अध्यक्ष एवम् सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार अनुसार राइनास नगरपालिका–९, मा रहेको राइनासकोटबाट १ सय ८० डिग्रीको बिन्दुबाट एकै पटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वेन्टी नाइन, गणेश, माछापुच्छ्रेलगायत १८ वटा हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ ।
लमजुङको प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि लमजुङको राइनासकोट पुग्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।