गैँडा गणना गर्न दाता खोज्दै विभाग

 माघ २९, २०७५ मंगलबार ६:२९:३७ | रासस
unn.prixa.net

चितवन – एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो । 

विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु एक करोड खर्च हुन्छ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो । मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरिएको भए पनि बजेटको निर्क्याैल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीसँग पैसा छैन, दाता खोजिरहेका छौँ । दाताको टुङ्गोसँगै गणनाको मिति तय हुन्छ ।” यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैँडा गणना गर्न २५ दिन लाग्ने बताउनुभयो । उहाँले चितवनको गणनाका लागि मात्रै रु एक करोड बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताउनुभयो । 

निकुञ्जमा गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार रु ५१ लाख हाराहारी खानामा मात्रै खर्च हुने गर्दछ । यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ ।

प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैँडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया