भारतीय सेनाले गर्‍याे पाकिस्तानी भूमिमा आक्रमण, खसाल्यो १००० किलो विस्फोटक पदार्थ

 फागुन १४, २०७५ मंगलबार ९:४८:३ | एजेन्सी
unn.prixa.net

भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको पाकिस्तानले दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानहरुले दुई देशको सीमा लाइन अफ कण्ट्रोल एलओसीमा हमला गरेको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले पुष्टि गरेका छन् । उनले ट्वीटरमा विष्फोटपछिका केही तस्बिर पनि पोष्ट गरेका छन् । 

भारतीय वायु सेनाका विमानले दुई देशको सीमा क्षेत्र पार गरेर पाकिस्तानतर्फ घुसपैठ गरेको र पाकिस्तानी वायू सेनाले त्यसको जवाफ दिएको प्रवक्ता गफुरले बताएका छन् । घटनामा कुनै हताहती भने नभएको उनको भनाइ छ । 

भारतीय सञ्चारमाध्यमले भारतीय वायु सेनाका श्रोतहरुको हवाला दिँदै पाकिस्तानसँगको सीमा क्षेत्र बालाकोट नजिकै रहेको जैस–ए– मोहम्मदको क्याम्पमा भारतको १२ मिराज २००० जेट विमानले १ हजार किलोको बम खसालेको दाबी गर्दै खबर सम्प्रेषण गरेका छन् । 

भारतको विपक्षी दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले बम खसालेकोमा भारतीय वायू सेनाका पाइलटलाई सलाम गर्न चाहेको ट्वीट गरेका छन् । 

भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन । 

१४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परी केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया