ग्रेडरले किचेर विद्यार्थीको ज्यान गएपछि बैतडीको पाटन तनावग्रस्त, २ जना घाइते

 फागुन २६, २०७५ आइतबार १२:५०:२८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको ज्यान गएपछि दोषीमाथि कारवाही र क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरु आन्दोलित भएका छन् ।  शनिबार बेलुका ५ बजेतिर पाटनको भीमदत्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा ज्यान गएको थियो । 

बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाइनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो । ग्रेडरको ठक्करले पाण्डेयको घटनास्थलमै  ज्यान गएको र ग्रेडर चालक रतन बुढा फरार भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । फरार चालकको शनिबार बेलुका देखि नै खोजी कार्य भइरहेको भए पनि अहिले सम्म फेला नपरेको उहाँले बताउनुभयो । ठक्कर दिने ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले प्रयोग गरिरहेको बुझिएको छ । 

आक्रोशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । यसका साथै पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारवाहीको  माग गर्दै नाराबाजी गरिरहेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । त्यस्तै आन्दोलनका क्र्रममा २ जना विद्यार्थीसमेत घाइते भएका छन् । घाइते हुनेमा तेज नेपाली र सिद्ध बहादुर बोगटी रहेका छन् । राजमार्ग अवरुद्ध हुँदा बैतडीमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । भने यात्रुहरु बीबाटोमै अलपत्र छन् ।  

राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भइरहेको बोगटीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया