युक्रेनले भन्याे– ‘अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भयाे’

 वैशाख ५, २०८२ शुक्रबार १५:१२:२० | एजेन्सी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

युक्रेनले अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भएको घोषणा गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्विरीडेन्कोले आशय ज्ञापनपत्रले आर्थिक साझेदारी सम्झौताका लागि मार्गप्रशस्त गरेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले अन्तिम सम्झौतामा युक्रेनको पुनर्निर्माणका लागि लगानी कोष पनि समावेश हुने बताउनुभयो ।

अमेरिकी अधिकारीहरूले अर्को हप्ताको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने आशा व्यक्त गरेका खबरमा उल्लेख छ । गएको फेब्रुअरीमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको सार्वजनिक बहसले खनिज सम्झौता वार्ता अस्थायी रूपमा अलमलमा परेको थियो ।

युक्रेनी अर्थमन्त्री स्विरीडेन्कोले सामाजिक सञ्जाल ‘एक्स’ मा आफूले र अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले छुट्टाछुट्टै हस्ताक्षर गरेको तस्वीरहरू राख्नुभएको छ । सम्झौताको समय र विषयवस्तुको बारेमा थप विवरणका लागि गरिएको अनुरोधको ह्वाइट हाउसले जवाफ नदिएको रोयटर्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीको खबरमा उल्लेख छ ।

यो युक्रेनको महत्त्वपूर्ण खनिजका साथै तेल र ग्यासमा अमेरिकाको पहुँच बढाउने सम्झौतातर्फको एक कदम हो । युक्रेनसँग खर्बाैं डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको आँकलन छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसको कब्जामा छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया