यसकारण विशेष हुन्छ मिथिलाञ्चलको होली

 चैत ८, २०७५ शुक्रबार १०:१७:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – अरु ठाउँमा फागु पर्व अर्थात होली पर्व सकिए पनि जनकपुरमा भने शुक्रबार विशेष उल्लासका साथ होली पर्व मनाईंदैछ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मात्र होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार जनकपुरमा होली मनाइएको हो । 

जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले भन्नुभयो, ‘मिथिलाञ्चलमा मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मात्र होली खेल्ने परम्परा छ । त्यसैले शुक्रबार होली मनाइँदैछ ।’

मिथिला मध्यमा परिक्रमा सकिएको भोलिपल्ट मात्र होली पर्व मनाउनुको कारणबारे मैथिली संस्कृतिविद एवं वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्नुहुन्छ ‘परिक्रमाबाट आएका यात्रुहरु थाकेका हुन्छन् । त्यसैले त्यो दिन मिथिलाञ्चलमा होली पर्व मनाईंदैन । थकाइ मार्छन् र भोलिपल्ट हर्षोल्लासपूर्वक होली पर्व मनाउने गरिन्छ ।’

परापूर्वकालमा असत्यमाथि सत्यको विजय भएकोे भन्ने किंवदन्ती अनुसार होली पर्व मनाउने गरिन्छ । यस्तै त्रेतायुगमा भगवान रामले आफनो ससुराली जनकपु्रमा आएर होली खेलेको स्मरणमा शुक्रबार मिथिलाञ्चलमा घरघरमा मालपुवा, खीर, पुरीलगायत विभिन्न प्रकारका मिष्ठान्न परिकार बनाएर खाँदै, रमाउँदै, रंग, गुलाल, अबीर एक अर्कालाई लगाएर होली पर्व मनाउँदैछन् । 

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलमा होली पर्व अनौपचारिक रुपमा शुरु भएको मानिन्छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा ऐतिहासिक स्थल महोत्तरीको भंगहा नगरपालिकास्थित कञ्चनवन पुगेपछि त्यहाँबाट नै होली पर्व विधिवत शुरु भएको मानिन्छ ।

त्यस स्थलमा भगवान श्रीरामले सीतासँग होली खेलेको धर्मिक विश्वासअनुसार परिक्रममा सहभागीहरुले एक आपसमा अबीर दलेर होली खेलेपछि पर्व विधिवत रुपमा सुरु हुन्छ । फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न भएपछि त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने चलन रहेको छ ।

होलीको प्रारम्भसँगै मिथिलाञ्चलमा होरी गायन पनि हुन्छ । तर पछिल्लो समय आधुनिकताको कारण होरी एवं जोगिरा गायन लोप हुन थालेको छ । शहरी क्षेत्रमा लोप नै भए पनि ग्रामिण भेगमा अहिले होली पर्वको दिन साँझ होरैयाहरु समूहमा ढोलक, झाईल, डम्फा, मृदंगजस्ता बाजागाजको तालमा प्रत्येकको घरदैलोमा गएर जोगिरा गाउने गर्दछन् । यसले मिथिलाञ्चलको होलीलाई थप आकर्षक बनाउँछ ।

पछिल्लो होरी जोगिरा गाउने प्रचलन कम भए पनि वसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमासम्म रेडियो, एफएम र लोडिस्पिकरमा मिथिलाञ्चलको गाउँघर, शहरबजार जतातै विभिन्न भाषामा घन्किने होलीको सुमधुर गीतले वातावरण नै होलीमय बनेको हुन्छ । तर पछिल्लो समय अश्लिल गीत पनि घन्काउने प्रवृत्ति हावी भएको छ ।

मिथिलाञ्चलमा होली पर्व नजिकिंदै गर्दा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गरी शुभकामना साटासाट गर्ने गर्छन् । यस्तै होलीको मौलिक तथा रम्रा पक्षहरुको संरक्षण सम्बर्द्धन र जगेर्ना गर्न विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि अयोजन हुने गर्दछन् ।

मैथिली सांस्कृतिविद् एवं वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्नुहुन्छ ‘सद्भावको अत्यन्तै मौलिक पर्व होलीलाई  बिगार्ने सबै प्रकारका विकृत पक्षलाई हटाएर राम्रा पक्षको संरक्षण एवं सम्वर्द्धन गर्नुपर्छ ।’ होली सैहादपूर्ण बाताबरणमा खेल्नुपर्ने उहाँको भनाई छ ।  

किन विषेश हुन्छ मिथिलाञ्चलको होली ?

मिथिलाञ्चलमा होली पर्वको पृथकता, विशेषता र महत्वको विषयमा विभिन्न किम्बदन्ती जोडिएको छ । त्यसैले मिथिलाञ्चलका मैथिली सांस्कृतिविद् र बुद्धिजीविहरुले होली पर्वको महत्वबारे आ–आफ्नै प्रकारले व्याख्या, विश्लेषण गर्ने गरेका छन् । 

मिथिलाञ्चल वर्षौंदेखि बाढी पहिरो, खडेरी, गरिबीलगायतबाट ग्रस्त छ । त्यसैले वर्षमा एकदिनको लागि भए पनि सबै दुःखकष्ट, पीडा बिर्सेर रमाउन खोजेकाले मिथिलाञ्चलमा होली पर्वको विषेश महत्व रहेको मैथिली संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको तर्क छ ।

‘मिथिलाञ्चल कहिले बाढी, खडेरी, गरिबीले वर्षौंदेखि ग्रस्त रहँदै आएको छ । धेरै पीडा भएपछि मान्छे एकदिनको लागि भए पनि सबै पीडाबाट मुक्त भएर उत्साह उमंगमा रमाउन चाहन्छ । मिठो मिठो परिकार खाने, लगाउने, साथीभाइसँग भेट गर्ने जस्ता आकांक्षाहरु मनमा हुन्छ । त्यसैले मिथिलाञ्चललबासीको लागि होली पर्व लोकप्रिय छ’ उहाँ भन्नुहुन्छ ‘मिथिलाञ्चलको अरु चाडपर्व छठ, चौठचन्द्र जस्तो नियम निष्ठा यस पर्वमा हुँदैन । सबै दुःख, पीडाबाट एकदिनको लागि मुक्ति पाएर हार्षोल्लासपूर्वक होली खेल्छन् ।’ 

मिथिलाञ्चलका अर्का सँस्कृतिविद् प्राध्यापक प्रमेश्वर कापडीले मिथिलाञ्चलबासी दर्शनशास्त्रमा बढी विश्वास गर्ने भएकाले होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको बताउनु हुन्छ । ‘होलीको सुरुवात वसन्त ऋतुसँगै हुन्छ । यहाँ मनोविज्ञान र स्वीकृतिको कुरा छ । अर्थात् तपाईं जति आत्मियताका साथ लिनुहुन्छ, खुलस्त लिनुहुन्छ, त्यो प्राकृतिक रुपले पनि आनन्दित हुन्छ । त्यसैले बढी आनन्द आउँछ । मिथिलाञ्चलबासी होली पर्वलाई निकै खुलेर लिन्छन् । त्यसैले बढी उल्लास हुन्छ ।’

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया