अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, विप्लव समूहका चारजना पक्राउ

 चैत १३, २०७५ बुधबार १०:१५:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला प्रहरी कार्यालय अछामले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारी अनुसार जिल्लाको रामारोशन गाउँपालिको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएकाे हो ।

पक्राउ पर्नेहरुमा विप्लव माओवादी पार्टी निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी भूमीसरा धामी र युवा संगठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको  छ ।

रामारोशन गाउँपालिको झाता गाउँमा ‘विप्लव’ समूहका केही सदस्य रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली मंगलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहले गोली चलाएपछि जवाफी फायर गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘९ जनाको समूहमा रहेका ‘विप्लव’ समूहले हाम्रो प्रहरी टोलीमाथि गोली चलाएका थिए, हामीले जवाफी फायर गरेपछि ५ जना भागे । बाँकी ४ जनालाई हामीले पक्राउ गर्न सफल भयौँ ।

‘विप्लव’ समूहका डोटी इञ्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्ना समूहका केही व्यक्तिलाई पक्राउ गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो टोलीले फायर गरेकै छैन, बिना कारण आरोप लगायर प्रहरीले हाम्रा केही साथी पक्राउ गरेको हो ।” 

जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको र आफ्नो तर्फबाट ७ राउण्ड फायर भएको बताएको छ । प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा विप्लव नेतृत्व नेकपाका अछामका इञ्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ । अछाममा अहिले प्रहरी सुरक्षा कडा पारिएको छ । दोहरो भिडन्तमा प्रहरीतर्फ कुनै क्षति नभएको अछाम प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया