डोटीबाट लोप हुँदै रैथाने जातका भैँसी

 चैत १६, २०७५ शनिबार १४:१९:६ | विमल बिष्ट
unn.prixa.net

डोटी - कुनैबेला डोटीमा घरैपच्छिे देखिने भैँसीहरु हिजोआज क्रमिक रुपमा हराउँदै जान थालेका छन् ।

पछिल्लो समय उन्नत जातका गाई भित्रिँदै गएपछि यहाँका स्थानीहरुले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा ५-६ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले एक दुईवटा भैँसीमात्र देखिने गरेको सायल गाउँपालिकाका स्थानीय दीर्घराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले गाउँका प्रत्येक घरमा ५-६ वटा भैँसी हुन्थे, अहिले त मुस्किलले मात्रै भैँसी भेटिने गरेका छन् ।’

स्थानीयले भैँसी पाल्न छोडेपछि यहाँ दूधजन्य पर्दाथमा पनि कमी आउन थालेको छ । यहाँका गाउँबाट दूध आउन बन्द हुन थालेपछि बजारमा रहेका होटल, चिया पसलेहरुले जिल्ला बाहिरबाट प्याकेटको दूध मगाउन बाध्य भएको रामजानकी मिष्ठान्न भण्डार दिपायल पिपल्लाका व्यापारी शितल यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मागेजति दूध गाउँबाट आउँदैन, दूध आउन छोडेपछि हामीहरु अन्य जिल्लाबाट दुध मगाएर व्यापार गर्न बाध्य छौँ ।’

भैँसीबाट सोचे अनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसान घट्दै गएको शिखर नगरपालिका मरकट्टेका किसान रामबहादुर महराले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा सामुदायिक वन भएका छन्, भैँसी पाल्न निकै कठिन हुने भएकाले अधिकांशले भैँसी पाल्न छोड्ने गरेका कारण भैँसी लोप हुने अवस्थामा पुगेका हुन् ।’

पछिल्लो समय यहाँका भैँसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैँसीको स्याहार सुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैँसी पालन व्यवसाय संकटमा परेको किसानहरुको गुनासो छ ।

स्थानीय भैंसी डोटीबाहेक सुदूरपश्चिमका अन्य पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला बझाङ तथा अछाम लगायतका जिल्लामा लोप हुँदै गइरहेका स्थानीयहरु बताउँछन् ।

मासुका लागि तराइतिर निर्यात

मुख्य गरी तराइ क्षेत्रमा मासुका लागि राँगाभैँसी प्रयोग हुने गरेका कारण पनि पहाडी क्षेत्रमा रहेका जिल्लाहरुबाट पछिल्ला केही वर्षयता भैँसी तराईतिर निर्यात भइरहेको दिपायलका स्थानीय दीर्घबहादुर बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चरन अभाव सँगै, दलालहरुले मासुका लागि तराई लैजान सस्तोमा थारो भैँसी किन्न थालेका कारण डोटीमा भैँसी लोप हुने समस्या देखिएको हो ।’ 

नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बीमा कार्यक्रमबाट देशका विभिन्न जिल्लाका किसानलाई भैँसी सुत्केरी भत्ता दिइँदै आए पनि डोटीमा भने त्यो कार्यक्रम लागू नभएका कारण भैँसी पाल्न छोड्ने गरेको स्थानियवासी बताउँछन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया