डोटेली राजाको दरबार पुनर्निर्माणका लागि उत्खनन् सुरु

 चैत २०, २०७५ बुधबार १०:३९:४२ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका वडा नं २ र ३ मा रहेको डोटेली राजाको दरबार पुनर्निर्माणका लागि उत्खनन् कार्य सुरु गरिएको छ ।

नेपालमा बाइसे चौबिसे राज्य भएका समयमा बलियो राज्यको रुपमा पहिचान बनाएको डोटेली दरबारको पुनर्निर्माणका लागि उत्खनन् कार्य सुरु गरिएको हो । ऐतिहासिक तथा पर्यटकीय दृष्टीकोणले महत्व बोकेको डोटेली राजाको दरबार पछिल्लो समय भग्नावशेष अवस्थामा रहेकाले दरबारको पुनर्निर्माणको कार्य अगाडि बढाएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एतिहासिक दरबार खण्डहर र भग्नावशेष भएकाले पुरानै शैलीमा बनाउने र संग्राहलय बनाउने हेतुले उत्खनन् गरेका हौँ ।”

दिपायल सिलगढी नगरपालिका र ऐतिहासिक पुरातत्व विभागको सहकार्यमा यो दरबार उत्खनन् कार्य अगाडि बढाइएको हो । दरबारको पुरातत्व विभागको प्राविधिक टोलीले उत्खनन्को निरीक्षण गरिरहेको छ । दरबार क्षेत्रसँग सरोकारवालाहरुबीच छलफल गरी उत्खनन् कार्य सुरु गरिएको हो । डोटेली राजाको दरबार कोट नामले प्रख्यात रहेको छ ।

बाइसे चौबिसे राज्यका पालामा डोटेली राजा दीलिप शाह बस्नका लागि मासको गाह्रोले निर्माण गरिएको यो दरबार संरक्षण सम्बद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको थियो । नेपालको राष्ट्रिय स्तरको सम्पदाका रुपमा सूचिकृत दरबारको स्तरोन्नति गरेर सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्ने उद्धेश्यले दरबारको संरक्षण तथा सम्बद्धर्न गर्न लागिएको बताइएको छ ।

डोटेली राजाको दरबार झण्डै १५ औं शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ । यहाँ दुईवटा भग्नावशेष दरबार भवन, भैरव मन्दिर रहेका छन् भने दरबार क्षेत्रको जमिन भित्र भित्रैबाट सेती नदीमा नुहाउन जाने गुफा निर्माण गरिएको छ । 

दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, बासुधारा जस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । दरबारमा ११ फिटभन्दा लामो ढुंगाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुंगा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भैसकेको स्थानीयबासीन्दाहरु बताउँछन् । 

भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि केही समय अघिमात्रै स्थलगत निरीक्षण तथा अवलोकन गरेको थियो । दरबारको स्थलगत अवस्था अवलोकनबाट प्राप्त भएका यथार्थ तथ्यहरु र दिपायल सिलगढी नगरपालिकाले गरिरहेको पहलबारे तत्काल पुरातत्व विभागमा प्रतिवेदन पेस गरी थप काम अगाडि बढाइएकोे पुरातत्व विभागका अधिकृत विष्णु पाठकले बताउनुभयो ।

तत्कालका लागि दिपायल सिलगढी नगरपालिकाले छुट्याएको १५ लाख रुपैयाँ बजेटका आधारमा दरबारको भग्नावशेष अवस्थालाई उत्खनन् गरी बाँकी संरचना निर्माणको काममा अगाडि बढाइने पुरातत्व विभागका सव–इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया