बिस्केट जात्राकाे अवसरमा थिमीमा बिहानै सिन्दुर जात्रा

 वैशाख २, २०७६ सोमबार ११:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - बिस्केट अर्थात बिस्का जात्राको अवसरमा मध्यपुर थिमीका बासिन्दाले साेमबार बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाइरहेका छन् । बिहानैदेखि मध्यपुर थिमीको टोल टोलबाट बिभिन्नि देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट् बोकेर सिन्दुर खेल्दै पुजाआजाका साथ यो जात्रा मनाईएको हो । 

थिमीमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट् बोकी बालकुमारीमा ३२ खट् ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

यो जात्रा साेमबार बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट् बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । आइतबारदेखि विष्णुबीर र दक्षिण बाराहीको खट् समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट् ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हाे ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट् उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट् ल्याएर यो जात्रा मनाईएको छ ।

थिमीमा ३२ वटा खट् सहभागि रथ बोकेर परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमी क्षेत्रमा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ ।

यसमा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका खट् बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । 

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खट्लाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।    

परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।  
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया