पुल निर्माण भएपछि खुशी भएका सर्वसाधारण अन्य पूर्वाधारको बाटो हेर्दै

 बैशाख २, २०७६ सोमबार १५:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - शिखर नगरपालिका–१ गेरुपानीमा झोलुङ्गे पुल निर्माण भएपछि दिपायल सिलगढी नगरपालिका ३ बाँफी गाउँका स्थानीय हर्षित छन् । पुल नहुँदा स्थानीयहरु दैनिक आवतजावत गर्न पनि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका थिए । 

गएको वर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरेको थियो र अहिले यहाँका स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ । पुल बनेपछि ज्यानको जोखिमबाट मुक्ति पाइएको स्थानीय रामबहादुर साउदले बताउनुभयो । ‘पुल नहुँदा सेती नदीमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थियौँ, कतिको त बगेर ज्यान गइसक्यो अब कोही बग्ने छैनन्,’ उहाँले भन्नुभयो । 

जिल्ला समन्वय समितिको पहलमा झोलुङ्खे पुल निर्माण भएपछि अहिले बाँफी, कैलडालगायतका गाउँका दर्जनौ स्थानीयहरुलाई आवत जावतमा निकै सहयोग भएको छ । साउदहरुको बढी जनसंख्या भएको गाउँमा झण्डै २ सय घरधुरी रहेका छन् । गाउँका स्थानीयहरुले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ बजारमा आउनुपर्छ । बजार आउनका लागि ट्युबको भरमा यात्रा गर्ने गरेका थिए । 

गाउँमा पुलको समस्या समाधान भए पनि यहाँका सर्वसाधारण खानेपानी, शिक्षा, स्वास्थ्य र यातायातजस्ता पूर्वाधारको पहुँचबाट टाढै छन् । दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउँका स्थानीयलाई आवत जावतमा सहज होस् भन्नका लागि पुल निर्माण गरिएको र अन्य विकासका कामहरु क्रमैले अगाडि बढाइने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल नहुँदा समस्या थियो, पुल बनायौँ, बाँकी समस्याहरु धेरै छन्, क्रमिक रुपमा विकास गर्दै जानेछौँ ।’ 

पुल निर्माण भएसँगै किसानहरुले फलाएका तरकारी, दूध, दहीलगायतका अन्य वस्तुहरु बिक्रीका लागि यहाँका प्रमुख व्यापारी केन्द्रहरु पिपल्ला, कालागाढ, समुहगाढ, कुल्पाते, राजपुरलगायतका ठाउँहरुमा पुर्‍याउन निकै सहज भएको कालागाढका व्यापारी रामसिंह कार्कीले बताउनुभयो । ‘पुल बनेपछि स्थानीयलाई आवत जावतमा सजिलो हुनुका साथै गाउँमा फलेका तरकारी र दूध, दही बिक्रीका लागि बजारसम्म आउने गरेको छ, यो राम्रो पक्ष हो,’ उहाँले भन्नुभयो । 

आफूले फलाएका चिजहरु बजारमा बिक्री हुन थालेपछि किसानहरुको आय आर्जनमा पनि विकास हुन थालेको बाँफी गाउँका कानुन व्यवसायी कैलास साउदले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया