अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्दै, पर्यटन व्यवसायी उत्साहित

 बैशाख २, २०७६ सोमबार १५:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ– नेपालकै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । केही महिना अघि परेको हिमपातका कारण अवरुद्ध भएको थोराङ्ला क्षेत्र सुचारु भएसँगै पदमार्गमा पर्यटकहरुको संख्या वृद्धि भएको हो ।

माथिल्लो क्षेत्रमा हिमपात रोकिएपछि पर्यटकहरुलाई थोराङ्ला भञ्ज्याङ पास गरी मुस्ताङ निस्कन अनुमति दिइएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनले हिमपात भइरहेको बेला पर्यटकहरुलाई सुरक्षित भएर होटलमा बस्न आग्रह गरेको थियो । पदमार्गको थोराङ्ला र तिलिचो क्षेत्रको प्रवेशमा रोक लगाइएको थियो ।

‘अहिले हिमपात रोकिएको छ । बाटोमा भएका हिउँ पहिरो हटाइसकिएको छ । पदमार्ग खुलेको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार, बाह्य र आन्तरिक पर्यटक गरी अहिले दैनिक झण्डै २ सय ५० को हाराहारीमा पर्यटक मनाङ भित्रिने गरेका छन् । मनाङमा दैनिक पर्यटक बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । 

यातायात सहज भएसँगै अहिले मनाङ चामेदेखि, पिसाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म दैनिक उल्लेख्य सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया