रुकुमबाट ६ महिनामा ५६ थान अवैध बन्दुक संकलन

 बैशाख ८, २०७६ आइतबार १९:२६:१६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लाका विभिन्न स्थानबाट ५६ थान अवैध हतियार संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको सक्रियतामा ५६ थान बन्दुक संकलन गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । 

शर्माले अवैध हतियार सुरक्षामाथिको चुनौती रहेको भन्दै पहिलादेखि नै हतियार बुझाउन आह्वान गर्दै आएको जनाउनुभयो । शर्माका अनुसार, गृह मन्त्रालयले प्रकाशन गरेको ३५ दिने सार्वजनिक सूचना अनुसार गत चैत्र १ गतेदेखि वैशाख ५ गते सम्म २३ थान बन्दुक संकलन गरिएको हो । त्यसैगरी ३३ थान बन्दुक गत मंसिरदेखि फागुन मसान्तसम्म संकलन गरिएको उहाँले जानकारी दिनुभयो । 

अवैध हतियार नियन्त्रणसँगै आपराधिक घटना न्यूनिकरणका र वन्यजन्तुको चोरी निकासी रोकथाम तथा जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताउनुभयो । संकलन गरिएका अवैध हतियार जिल्ला प्रहरी कार्यालयमा सुरक्षित गरेर राखिने छ । संकलन गरिएकामध्ये ५५ थान बन्दुक ठिक हालतमा रहेका छन् भने एउटा बन्दुक नपड्किने अवस्थामा छ । 

जिल्लाका तीन स्थानीय तहबाट नागरिकको सहमतिमा ती बन्दुक संकलन भएका हुन् । सबैभन्दा बढी  पुथाउत्तरगंगा गाउँपालिकाबाट बन्दुक संकलन गरिएको छ । यो गाउँपालिकाको ८ वडाबाट ४४ थान भरुवा बन्दुक संकलन भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, पुथाउत्तरगंगाको वडा नं. १, २, ३, ४, ८, १०, १२ र १४ बाट ती बन्दुक संकलन भएका हुन् । 

त्यस्तै जिल्लाको सिस्ने गाउँपालिकाबाट ११ र भूमे गाउँपालिकाबाट एक थान बन्दुक संकल नभएको छ । सिस्नेको १ र २ तथा भूमेको वडा नम्बर ३ बाट बन्दुक संकलन भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । 

जिल्लालाई अवैध घरेलु हतियार मुक्त गर्ने अभियान अन्तर्गत घर–घरमा गएर हतियार बुझाउन आग्रह गर्ने गरिएको र नागरिकहरुले आफै हतियार बुझाइरहेको शर्माले बताउनुभयो । उहाँका अनुसार, अहिले सम्म कुनै पनि हतियार बरामद गर्नुपरेको छैन ।

गएकाे मंसिर महिनामा मात्रै जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको मैकोटबाट ५५ थान बन्दुक संकलन गरिएको थियो । सार्वजनिक सूचनापछि तीन महिनाको अवधिमा स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले ५५ थान बन्दुक संकलन गरेर जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया