मलमासमा के गर्ने, के नगर्ने ?

 जेठ ४, २०७५ शुक्रबार ७:५७:५ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

adhik mass

–बलराम उपाध्याय खकुरेल

यस वर्ष जेठ २ गतेदेखि अधिक मास सुरु भएको छ । एक महिनासम्मको समयलाई अधिक मास भनिन्छ । 

अधिकमास अर्थात मलमासको बेला विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता भएकाले नयाँ दुलहीहरु माइत जान्छन् । आखिर मलमास के हो त ? यसलाई अन्य महिनाहरुभन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिक मास किन पर्छ त ? 

अधिक मासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको बेला नयाँ घर सर्ने, जग राख्ने, विवाह, व्रतबन्ध, जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

यस अवधिभर केही धार्मिक कार्यहरु भने गर्न मिल्छ । जस्तै : — बालकहरुको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरु र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ र गर्नु पनि पर्छ । 

किन यो समयलाई अन्य भन्दा विशेष मानियो त ?

सौर्यमण्डलमा रहेका ग्रहहरु सबैको बेग्ला बेग्लै गति रहेको छ । कुनै ग्रहहरु निकै छिट्टो हिँड्दछन् भने कुनै निकै कमको गतिमा हिँड्दछन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरुदेखि लिएर मानिसको जन्म कुण्डली पनि हेर्ने गरिन्छ ।

अझै भनौँ भने निर्माण कार्यसँग सम्बन्धित वास्तुशास्त्रमा पनि ग्रहहरुको अनुसार नै कुन निर्माण कहाँ गर्ने भनेर निर्देशन गरिएको छ ।

हामीले कामकाजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ । यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा १ वर्ष हुन्छ । यसरी विचार गर्दा सूर्य र चन्द्रमाबीच १ वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ ।

२ वर्षमा सूर्य र चन्द्रमाबीच २२ दिन र  ३ वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भएपनि चन्द्रमाका आधरमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गतिको व्यालेन्स मिलाउन नै प्रत्येक ३/३ वर्षमा मलमास पर्ने गर्दछ । मलमास जुनसुकै महिनामा पनि पर्न सक्छ । मलमास कुनमहिनामा पर्छ भन्ने प्रमाण “ज्योतिःसारशिरोमणिमा” यसरी बताइएको छ :—

असंक्रान्तिमासोऽधिमासः स्फुटंस्याद् द्विसंक्रान्तिमासःक्षयाख्यःकदाचित् ।
क्षयःकार्तिकादित्रये नान्यतः स्यात्तदावर्षमध्येऽधिमासद्वयञ्च ।।
अमावस्याद्वयं चैव प्रतिपच्चत्रयं त्रयम् ।
मलमासेन विज्ञेया पराशरवचो यथा ।।

अर्थात्, यदि कुनै पनि महिनाको एउटा औँशीदेखि अर्को औँशीको बिचमा संक्रान्ति परेको छैन भने, त्यस २ औँशीको बिचको समयलाई मलमास भनिन्छ । धर्मशास्त्रहरुमा सूर्य संक्रान्ति नपरेको महिनालाई अशुद्ध र दोषयुक्त मानिएको हुनाले यसलाई मलमास भनिएको हो ।

 त्यस्तै यदी एउटै चान्द्रमासमा अर्थात्  एउटा औँशीदेखि अर्को औँशीको बीचमा २ वटा संक्रान्ति परेमा त्यस महिनालाई क्षयमास भनिन्छ । क्षयमास परेको महिनामा अघि र पछि २ वटा अधिक मास पनि पर्दछ । ३/३ वर्षमा आउने मलमास योभन्दा अघि २०७२ सालको असार महिनामा परेको थियो । यसपाली जेठ महिनामा परेको छ भने अर्को पटक २०७७ सालको असोज महिनामा पर्दछ ।

दिनहरु लामो हुने महिनामा अधिकमासहरु हुने संभावना बढी हुन्छ । त्यसकारण प्रायःजसो फागुनदेखि असोजसम्मका महिनाहरुमा नै अधिकमास पर्दछ । क्षयमास कात्तिक, मंसिर र पुष महिनामा मात्र पर्छ ।  तर क्षयमास मलमासको तुलनामा निकै कम पर्दछ । मलमास र क्षयमासको निर्णय चान्द्रमासबाट नै लिनुपर्छ ।

सौरमासबाट लिनु हुँदैन । सौरमास अनुसार मलमास हुने भए संक्रान्ति पनि १३ वटा हुनुपथ्र्यो । तर संक्रान्ति १२ वटा मात्र नै हुन्छ । शक्लपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँशी सम्मको अवधि नै मलमास हुने भएकाले चान्द्रमासबाट नै मलमासको निर्धारण हुन्छ भन्ने कुराको प्रमाण पुग्दछ ।

सौरमास र चन्द्रमासको बीचअन्तरहरु बढ्दै जाँदा हरेक तीनवर्षमा एक महिना पुग्छ र अधिकमास बन्दछ ।“सिद्धान्त शिरोमणि”मा अधिकमासको बारेमा धेरै कुराहरुको जानकारी दिइएको छ भने “ज्योतिः सारशिरोमणि”नाम गरेको ज्योतिषग्रन्थमामलमास संबन्धि वशिष्ठ ऋषिको मतलाई राखिएको छ :—

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।

अर्थात् सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्दछ । अन्य महिनाहरुभन्दा यस महिनामा गरेको भजन कीर्तन र सत्संगको महिमा ठूलो छ भन्ने कुरा पुरुषोत्तम माहात्म्यको कथामा उल्लेख गरिएको छ ।

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया