अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
डोटी – आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने भनिए पनि हालसम्म निर्माणकार्यको टुङ्गो नलाग्दा स्थानीयवासीमा अन्योल बढेको हो ।
‘पश्चिमसेती बन्छ भनेर हामीलाई खाली सपनामात्रै देखाइन्छ, कसले बनाउने टुङ्गो नै लागेको छैन, नेताको मागी खाने भाँडो भयो पश्चिमसेती ।’ स्थानीय टेकबहादुर रोकायाले बताउनुभयो । निर्माणकार्य कसले गर्ने भन्ने ठोस निर्णय नहुँदा यो आयोजना ‘एकादेशको कथा’ बन्नसक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् ।
यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिनेमात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्ने दिपायलका काङ्ग्रेस नेता घनश्यामदत्त पाठकले बताउनुभयो ।
त्यस्तै आयोजनाको विषयमा कुनै टुङ्गो नलाग्दा आफूहरु दुःखी भएको डोटीको लाटामाडौँका स्थानीय प्रेमबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, खै कहिले बन्ला, सपनामै रहने भो पश्चिमसेती ।’
पश्चिम सेती बन्ने हल्ला सुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ, तर पश्चिमसेती बन्ने हल्ला हल्लामै मात्र सीमित छ । स्थानीयबासिन्दा ‘थ्री गर्जेज’सँगको प्रारम्भिक सम्झौतापछि पनि आयोजना सम्पन्न हुनेमा विश्वस्त हुननसकेको अर्का स्थानीय डिलबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जतिपटक सम्झौता भयो, उतिपटक खारेज हुन्छ, के काम सम्पन्न होला र ।’
निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम सुरु गर्नुपर्ने स्थानीयबासीन्दाको माग छ । पश्चिम सेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा जग्गाको कारोबार अधिक बढेको स्थानीयबासीन्दा बताउँछन् ।
उता नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त पश्चिम सेती निर्माण गर्ने दाबी गरे पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आदर्श गाउँपालिकाका नेविसङ्घका विद्यार्थी नेता गोविन्द खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पश्चिम सेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिमसेती बन्दैन ।’
जलाशययुक्त पश्चिम सेती निर्माण गर्न चिनियाँ कम्पनी ‘थ्री गर्जेज’ तलारा आएर विभिन्न संरचना निर्माण गर्दा पश्चिम सेती बन्छ भनेर खुशी र ढुक्क भएका यहाँका स्थानीयवासी थ्री गर्जेजले पश्चिमसेती नबनाउने भन्दै आफ्ना उपकरण लगेर गएसँगै निराश बनेका हुन् ।
पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा बर्सेनि डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुन थालेका छन् । यहाँका स्थानीयवासी भन्छन्, ‘सक्छौ पश्चिमसेती बनाउ, नसक्ने भए पश्चिम सेतीमा राजनीति नगर ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।