बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत – हुम्लाको अदानचुली गाउँपालिका–१ की राजकला महतारालाई बुधबार सुत्केरी व्यथाले च्याप्यो । बच्चा जन्मिनुभन्दा अघि नै साल खस्यो । उहाँका परिवारले आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीमा पुर्याए, तर उपचार सम्भव भएन ।
स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उहाँलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको खबर सामाजिक विकास मन्त्री दल रावलसम्म आइपुग्यो । मन्त्री रावलले तत्काल काठमाण्डौबाट हेलिकोप्टर मगाएर आफैं महतराको उद्दार गर्न पुग्नुभयो । हुम्लाबाट हेलिकप्टरमा वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्याउँदा बच्चाको गर्भमै मृत्यु भइसकेको थियो । आमाको ज्यान चाहिँ जोगियो ।
राजकलाको शल्यक्रिया गरेर मरेको बच्चा निकालियो । प्रदेश अस्पतालमा उपचारमा रहेकी राजकलाले भन्नुभयो, ‘माथि गाउँमै भएको भए म पनि मरिसक्थेँ होला । मेरो ज्यान बच्यो । मन्त्री आफै गएर लिएर आउनु भयो । खुशी लागेको छ ।’
कर्णालीका बासिन्दा समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि कर्णाली प्रदेश सरकारले हवाई एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सुत्केरी महिलाहरुलाई तत्काल उद्दारका लागि प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था गर्ने गरेको छ ।
श्रीमतीलाई सरकारले हेलिकप्टर चाटर्ड गरेर ज्यान बचाएपछि सरकार आफूहरुसँगै रहेको अनुभूति भएको राजकलाका श्रीमान बिर्खबहादुर महताराले बताउनुभयो । ‘आज सरकारले मलाई आपत आइलाग्दा साथ दियो । मलाई गर्व लागेको छ’ उहाँले भन्नुभयो, ‘आज मेरो श्रीमतीको ज्यान बच्यो । म यसैमा खुशी छु । सरकार साथमा रहेछ भन्ने लागेको छ ।’
महतारालाई मात्र होइन बुधबार नै हुम्लाको चंखेली गाउँपालिकास्थित स्वास्थ्य चौकीका कार्यरत अनमी निशा नेपालीको पनि हेलिकोप्टरबाट उद्दार गरियो । उहाँको बच्चा खसेपछि अत्यधिक रक्तश्राव भयो ।
‘१५ गते साँझ नै मेरो बच्चा खसेको थियो । त्यसपछि धेरै रक्तश्राव भयो’ नेपालीले भन्नुभयो, ‘सरकारले हेलिकोप्टरको व्यवस्था गरिदिएर यहाँसम्म ल्याएर उपचार ग¥यो । धेरै खुशी छु । सरकारले गरेको यो राम्रो पक्ष हो । स्थानीयको पनि राम्रो साथ पाएँ । म धेरै खुशी छु ।’
बुधबार दुवै जनाको उद्दारका लागि सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकोप्टर लिएर हुम्ला पुग्नु भएको थियो । कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकोप्टरको व्यवस्था गर्दै आएको छ ।
हालसम्म प्रदेश सरकारले २३ जना सुत्केरीको उद्दार गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ मा ७ जना र चालु आर्थिक वर्षको हालसम्म १६ जनाको उद्दार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड रुपैँया बजेट बिनियोजन गरेको छ । जसबाट विपदमा परेका नागरिकको उद्दारमा एक करोड खर्च भइसकेको सामाजिक विकास मन्त्री रावलले बताउनुभयो ।
‘हामीले हालसम्म जोखिममा परेका सुत्केरी महिलाहरुलाई हेलिकप्टरमार्फत ल्याएर उपचार गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छैन । हामीले अहिले सुत्केरीको मात्र तत्काल हेलिकोप्टरमार्फत उद्दार गर्ने गरेका छौँ । आगामी दिनमा जोखिममा परेका अन्य बिरामीलाई पनि गर्ने तयारीमा छौँ । यो सरकार हुनुको दायित्व पनि हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।