कसैलाई नपचेर के गर्ने अर्को पटक दुई तिहाईको सरकार बन्छ : प्रधानमन्त्री ओली

 जेठ ३, २०७६ शुक्रबार १२:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउनुभएको छ । 

मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी पनि गर्नुभयो ।

अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उहाँले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ।’

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताउनुभयो ।

छुटेकाहरु बाँकी संगठनमा समेटिदै जाने भन्दै उहाँले एकता र एकीकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढ्न सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई ध्यानमा राख्दै अघि बढ्ने हो ।’

अब दुवै पार्टी अन्तरघुलित भएर एक भएको भन्दै उहाँले यसैलाई बुझेर सबै नेतृत्व पाउने साथीहरुले जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

एकताका केही काम बाँकी रहेको भए पनि ती कामले केही दिन भित्र नै पूर्णता पाउने पनि उहाँले विश्वास दिलाउनुभयो । उहाँले पराजित प्रतिक्रियावादी शक्तिहरुले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै नागरिकको खुसीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि धेरै चुनौति रहेको बताउनुभयो ।

उहाँले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार जस्ता कुरामा सरकार कठोरताका साथ लागिरहेको भन्दै सरकारले गरिरहरहेको कामविरुद्ध केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गरिरहेको भन्दै त्यसलाई परास्त गर्दै अघि बढ्ने बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया