सपनाको देश मात्रै होइन अमेरिका !

 जेठ ४, २०७६ शनिबार ६:५०:४२ | आरती शर्मा
unn.prixa.net

लगातार कैयन वर्षसम्मको प्रयासपछि बल्लतल्ल डीभी पर्यो उनलाई । 

अमेरिका जाने सपना सपनै रहला भन्ने ठूलो डर पनि थियो सँगसँगै । तर अन्ततः डीभी पर्यो । उनी निक्कै खुशी थिइन् अमेरिका जाने समयमा ।  खुशी त अहिले पनि छिन् तर पहिले र अहिलेको खुशीमा समानता खोज्दै छिन् उनी ।

पहिले उनी ‘अमेरिकन ड्रिम’मा खुशी थिइन् । चलचित्रका नायक नायिका जस्तो भएर बाँच्न पाइने भयो भनेर मख्ख थिइन् । तर वास्तविकता साहै फरक र डरलाग्दो हुने रहेछ । चलचित्रका नायक नायिकाको जस्तो जीवन पाइन्छ भनेर कल्पिएकी उनी बिहानदेखि बेलुकीसम्म टुसुक्क पनि बस्न नपाइ काम गर्छिन् अहिले अमेरिकामा । 

कामको समयको टुंगो पनि हुँदैन । कहिले बिहान, कहिले दिउँसो अनि कहिले साँझ । एउटै छतमुनि सँगै बस्ने मानिसहरुको अनुहार कहिलेकाहीँ मात्र देख्न पाउँछिन् उनी । ती मान्छेहरु मध्ये उनका श्रीमान् पनि एक हुन् । श्रीमान् बिहान चाँडै काममा जान्छन् उनी नउठ्दै । अनि सुतिसक्छन् राति उनी नआउँदै । कहिलेकाहीँ श्रीमानलाई जागै बस्न अनुराेध गर्दै फोन गर्छिन् उनी । श्रीमान विचरा थकाइले चुर भएर अनुरोध स्वीकार्न सक्ने अवस्थामा पनि हुँदैनन् धेरैजसो । 

तर अमेरिका जाने सपना देख्ने ती युवाहरुले बुझ्नुपर्ने कुरा के हो भने के साँच्चै अमेरिका सपनाकै देश हो त ?

अहिलेको समयमा अधिकांश नेपाली युवाहरुले डीभी परेर अमेरिका जाने सपना देख्छन् । यो कुनै असामान्य कुरा होइन, किनकी विगत दुई दश देखि हजारौँको संख्यामा नेपाली युवाहरु अमेरिका पलायन भएका उदाहरण प्रशस्त छन् । देशको जर्जर अर्थतन्त्र र बढ्दो बेरोजगारी पनि यसको एउटा कारण हो ।

तर अमेरिका जाने सपना देख्ने ती युवाहरुले बुझ्नुपर्ने कुरा के हो भने के साँच्चै अमेरिका सपनाकै देश हो त ? काम नगरी बसीबसी खान पाइन्छ त्यहाँ ? के पैसा फल्ने रुख छ त्यहाँ ? यति सबै नबुझीकन पनि युवाहरु अमेरिकी जीवनप्रति लालायित हुनुको रहस्य अर्थोकै पो छ कि ?

गएको मार्च २०१९ मा ‘कमिसन अन स्टेटस अफ् वुमेन (CSW)’ मा भाग लिन म अमेरिका गएको थिएँ । पच्चिस दिनको उक्त बसाइमा आफू गएको कार्यक्रमभन्दा बाहेक पनि धेरै कुराको अनुभव लिने अवसर मिल्यो पंक्तिकारलाई । महिला अधिकार र सामाजिक मूल्य मान्यताका विषयमा काम गर्ने भएको कारण पनि महिलासम्बन्धी विषयमा स्वतः ध्यानाकर्षण हुनु स्वभाविक हो । 

आजभोलि नेपालमा महिला अधिकारको क्षेत्रमा धेरै प्रगति भएको छ भनिन्छ । उदाहरणको रुपमा नगण्य रुपमै भए पनि महिलाहरुले रुपान्तरणीय नेतृत्व लिएको देखिन्छ । तर स्मरणीय रहोस् महिलामाथि हुने हिंसाको अवस्थामा सायदै कुनै परिवर्तन आएको छ । 

हिंसा पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ । पहिला सञ्चार माध्यमलगायत सामाजिक सञ्जाल अस्तित्वमा थिएनन् । एक ठाउँमा घटेको घटनाको विषयमा अर्का ठाउँका मानिसहरुले थाहा पाउँदैनथे । तर हालको अवस्था ठिक त्यसको विपरीत छ ।

एक ठाउंमा घटेको एउटा घटनालाई बीस फरक सञ्चारका माध्यमले फरक–फरक किसिमबाट प्रसारण/प्रकाशन गर्दछन् ।  यो स्वभाविक हो कि आम मानिसलाई लाग्छ पहिलेभन्दा घटना धेरै बढेको हो । तर वास्तविकता त्यो होइन । पहिले घटना घटे पनि पीडितहरुमा त्यो आँट थिएन कि उनीहरु सञ्चार माध्यमहरुमा जाउन् वा प्रहरीमा रिपोर्ट गरुन् । अहिले अवस्था फरक छ । 

पीडितहरुलाई आँट भरोसा दिने सञ्चारमाध्यम, संघसंस्थाहरु, अधिकारकर्मीहरु र महिलावादीहरु समाजमा प्रशस्तै भेटिन्छन् । उनीहरुकै आँट भरोसामा प्रहरीमा गएर घटना दर्ता गराउनेको संख्या पनि बढेको छ । तर घटनाको संख्यामा वृद्धि भएको नभई घटना रिपोर्ट गर्नेको संख्यामा वृद्धि भएको हो । ‘अधिकारकर्मीहरुको कारणले गर्दा नै महिला तथा बालिकामाथि हुने हिंसाको घटनाको दरमा वृद्धि भएको हो’ भन्ने बुझाइ बोकेको आजको नेपाली समाजले यो तथ्य बुझ्नु पनि उत्तिकै आवश्यक छ । 

यी त भए हिंसाका नालीबेली । अब कुरा गरौँ नेपाली समाजमा महिला र पुरुषको लागि समाजले तोकिदिएको लैंगिक सामाजिक भूमिकाको विषयमा । एउटी युवती विवाहपश्चात श्रीमानको घर जान्छिन्, आफ्नो घर, परिवार, नातागोता सबैलाई छोडेर । यहाँसम्म कि विवाह संस्कारको नाममा उनको गोत्र, थर र कतैकतै त नामसमेत परिवर्तन हुन्छ ।

विवाहपूर्वको आफ्नो पहिचान पनि छोडेर जान्छिन् उनी, किनकि उनलाई दिइएको सामाजिक लैंगिक भूमिका हो त्यो । उनका श्रीमानले चाहेर पनि उनको श्रीमत सरह सजिलै ससुरालीमा आएर बस्न सक्दैनन् । त्यसो गरेमा समाजका अनौठा पात्र बन्छन् उनी । त्यसैले हाम्रा समाजका श्रीमानहरु बलियो, श्रीमती पाल्न सक्ने, श्रीमती तह लगाउन सक्ने हुनु जरुरी छ ठानिन्छ ।

डीभी परेर श्रीमानसहित अमेरिका गएकी मेरी साथीले गर्ने काम सामान्य नै छ । ठिकठिकै पैसा कमाउँछिन् । श्रीमान र श्रीमतीले कमाएकोले यी दुईको जीवन मज्जाले चलेको छ ।

समाजले दिएको लैंगिक सामाजिक भूमिका हो त्यो । जत्तिनै परिवर्तन भएको भनिए तापनि नेपाली समाजमा अझै पनि पुराना रुढिवाद र पुरातनवादी सोचाइ कायमै छ । व्यवहारमा परिवर्तन ल्याउनु बाध्यता भए पनि सोचाइमा परिवर्तन आउन निकै कठिन छ ।

वर्तमान समयमा पढे लेखेकी, बुद्धिमान, स्मार्ट र जागिरे बुहारी चाहने सासुससुरा धेरै भेटिन्छन्, तर उनको कार्यव्यस्ततालाई सघाउने र कामको बोझ बाँडिचुडी लिने छोरा चाहँदैनन् । छोराले यदि त्यो गर्न चाहे पनि बाबुआमाको कारणले उस्ले त्यो गर्न सक्दैन । बाबुआमाको इच्छाविपरीत छोराले यदि श्रीमतीलाई सघाउने हो भने पनि सासूससुराको कोपभाजनको सिकार फेरि तिनै बुहारी हुनुपरेको देखिन्छ । 

ज्वाइँले छोरीलाई काम सघाएको सारै मनपराउने हाम्रा समाजका सासूससुराहरु छोराले बुहारीलाई सघाउँदा प्रत्यक्ष रुपमा केही नभने पनि परोक्षमा ‘कठै १ बिचराले दुख पायो’भन्न चाहिँ छोड्दैनन् । गाउँको घरछोडी शहर बजारमा काम गर्न, पढ्न बसेका श्रीमान श्रीमतीको बीचमा कामको बाँडफाँड गाउँकोभन्दा फरक हुन्छ । उनीहरुको बीचमा कार्य विभाजन प्रष्ट हुन्छ र गाउँमा जस्तो यो महिलाले गर्ने काम हो र यो पुरुषले गर्ने काम हो भनेर छुट्ट्याइएको हुँदैन । 

दुवै जना काम गर्ने र पढ्ने भएमा त्यो कार्य विभाजन अझ प्रस्ट हुन्छ । तर अनौठो कुरा त्यहाँ पनि के छ भने श्रीमानको बाबुआमाको उपस्थितिमा उसले श्रीमतीलाई सघाउन सक्दैन । आमाबाबुको अनुपस्थितिमा श्रीमतीलाई काममा हरसम्भव सघाउने श्रीमानले उनीहरुको उपस्थितिमा त्यो काम त उसले जानेकै छैन जस्तो प्रतिक्रिया जनाउँछ किनकि आमाबाबुको नजरमा उ श्रीमतीलाई सघाउने जोइटिंग्रे बन्न चाहँदैन । श्रीमतीलाई सघाउने श्रीमान जोइटिंग्रे हुन्छ भनेर उसलाई कसले सिकायो त ? उसका बाबुआमाले, अनि बाबुआमालाई ? यही समाजले । 

अब लागौं फेरी अमेरिकातिर । पंक्तिकारको पहिलेको प्रश्न थियो अहिलेका युवाहरु अमेरीकन वा बिदेशी जीवन प्रति लालायित हुनुको गुढ रहस्य के होला त ? कतै हाम्रो समाजमा बिद्यमान असमान लैंगिक भूमिका नै युवाहरुलाई विदेशी जीवनको मोहमा फसाउने जालो त हैन  ? विदेशमा विशेषगरी युवतीहरुले नेपालमा नपाउने जीवन पाएका छन् ।

पहिलो कुरा त तिमी यसो गर, उसो नगर, तिमी यो घरकी बुहारी हौ, तिम्ले यस्तो लगाउन मिल्छ, यस्तो लगाउन मिल्दैन, यस्तो बोल्न मिल्छ, यस्तो मिल्दैन भन्ने सासुससुरा विदेशमा कमै हुन्छन् । यदाकदा घुम्न गएपनि उनीहरु छोराबुहारीसँग विदेशमै बस्ने कमै हुन्छन् । युवतीहरुलाई विदेशी जीवन मनपर्ने एक प्रमुख कारण यो हुनसक्छ, किनकि बुहारी बन्नेबित्तिकै आफ्ना सबै इच्छाहरुको तिलाञ्जली कसैले पनि दिन सक्दैन । 

दोश्रो कुरा, बाबुआमाको अगाडी भान्छामा आउन पनि अन्कनाउने श्रीमानहरुले विदेशमा श्रीमतीहरुलाई मज्जाले सघाउँछन् किनकि त्यहाँ त्यसको विकल्प छैन । बिदेशमा जिवनस्तर असाध्यै महंगो हुन्छ, एकजनाको कमाइ दुईजनाको परिवार धान्न पनि मुस्किल हुन्छ, झन बच्चा भएपछिको त कुरै नगरौं ।

सहज जीवनस्तर हासिल गर्न श्रीमान श्रीमती दुवैले बाहिर काम गर्नको लागि घरभित्रको कामको पनि उचित बाँडफाँड गर्छन् र जीवन सहज बनाउँछन् । दुखजिलो गरेर, घरभित्र र बाहिर काम गरेर पनि श्रीमान–श्रीमतीको परस्पर मेलमिलाप र समझदारी कायमै रहन्छ भने यो पनि कारण हुन सक्छ युवाहरुको विदेशी जीवनप्रति लालायित हुनुको अर्को रहस्य । लैंगिक रुपमा समान र आत्मसम्मानपूर्ण जीवन सबै मानवले चाहने कुरा हो, जुन नेपालमै हासिल हुन अझै दशकौँ लाग्न सक्छ । 

तेश्रो कुरा, विवाह भएर श्रीमानको घरमा गएपछि एउटी युवतीले आफ्ना सबै इच्छा आकांक्षाहरुलाई विवाहीको लेप लगाउन बाध्य हुन्छिन् । श्रीमान, सासूससुरालगायत परिवारमा अन्य सदस्यहरुको रुची तथा इच्छा नै उनको इच्छा बन्छ, बनाइन्छ ।

साँच्चै उनको इच्छा के हो भन्ने कुरातर्फ खासै ध्यान दिइँदैन पनि । खाने कुरामा, लगाउने लुगामा, बोल्ने बोलीमा विवाहितको लेप लाग्छ । यी कुराहरुमा उनले उनको स्वतन्त्रता पाउँदिनन् । उनी अब श्रीमानको घरमा हुन्छिन्, जहाँ उनको आफ्नो इच्छा आकांक्षाभन्दा पनि उनको जिम्मेवारी, कर्तव्य र परिवारको इज्जत निकै ठूलो भइदिन्छ । 

तर विदेशमा अवस्था फरक हुन्छ, त्यँहा श्रीमती श्रीमानको घरमा गएको नभई, दुवै मिलेर नयाँ जीवनको परिकल्पनामा नयाँ ठाउँमा गएका हुन्छन् । दुवैलाई एकअर्काको रुची, इच्छा थाहा हुन्छ र त्यसप्रतिको सम्मान पनि ।

‘नेपाल हो र यो बच्चा पाउ वा कहिले पाउँछौ भनेर दबाब दिनलाई, यो अमेरिका हो, जहिले मलाई मन लाग्छ त्यहिले पाउँछु नि !’

श्रीमानले श्रीमतीलाई मनग्गे सघाउन पाउँछ, छोराको लागि चित्त दुखाउने आमाबाबु हुन्नन् त्यहाँ । श्रीमतीले मन परेको, फेसनमा चलेको लुगा लगाउन र मन परेको काम गर्न पाउँछिन् किनकी, तिमी त बुहारी हौ, यस्तो गर्न मिल्दैन भन्ने पनि हुन्नन् त्यहाँ । सायद यो पनि कारक हुनसक्छ युवा र अझ विशेषगरी युवतीहरुलाई विदेशी जीवनले मोहित पार्ने ।

हेर्दा सामान्य देखिने यो कुरालाई गहिराइमा हेर्ने हो भने यसले नेपाली बाबुआमाहरुको डरलाग्दो भविष्यलाई इंगित गर्दछ । वर्तमानमै पनि धेरैजसो नेपाली परिवारमा कोही न कोही विदेशिएका छन् ।

विदेशी रहनसहन, विदेशी जीवन देखेका छोराहरुको विवाहपछि पनि छोरा र बुहारीलाई लैंगिक रुपमा गर्नुपर्ने सही व्यवहार गर्न नसक्दा आमाबाबुहरु छोराबुहारीहरुसँग टाढा हुने र बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएका उदाहरणहरु हाम्रै वरपर प्रशस्त भेटिन्छन् । त्यस्तैगरी, परिवारभित्र लैंगिक भूमिकामा समानता नहुने र विदेशमा आफ्नो स्वतन्त्रतासहितको लैंगिक रुपमा समान जीवन बिताउन पाउने भएकाले पनि युवतीहरुको विदेशमोह बढेको देखिन्छ । 

यसो हुनुमा आजका युवायुवतीहरुको सोचभन्दा पनि सदियौंदेखि नेपाली समाजमा जरा गाढेर बसेको हानीकारक सामाजिक मूल्यमान्यता दोषी देखिन्छन्, जसले महिला र पुरुषको बीचमा असमानताको खाडल खनेका छन् । जसको फलस्वरुप मानिस परिवारभन्दा पनि व्यक्तिवादतर्फ अग्रसर भएको देखिन्छ, जुन पक्कै पनि नेपाली आमाबाबुहरुको लागि सुखद संकेत भने होइन । 

त्यसैले पनि महिला र पुरुष, छोरा र छोरी, छोरा र बुहारीलगायतका सम्बन्धहरुमा लैंगिक सामाजिक असमानता अन्त्य हुनु एकदमै आवश्यक छ । यही अवस्था यथावत रहेमा, पश्चिमा देशमा झैँ छोराछोरीहरुले बालिग हुनेबित्तिकै आमाबाबुलाई छोडेर एक्लै बस्ने प्रवृतिको आगमन नेपाली समाजमा पनि नहोला भन्न सकिन्न ।

डीभी परेर श्रीमानसहित अमेरिका गएकी मेरी साथीले गर्ने काम सामान्य नै छ । ठिकठिकै पैसा कमाउँछिन् । श्रीमान र श्रीमतीले कमाएकोले यी दुईको जीवन मज्जाले चलेको छ । कमाउन त नेपालमा पनि कमाउँथिन् उनी, तर आफ्नै हातले आफ्नो कमाइ खर्चिन पाएकोमा मख्ख छिन् ।

हुनत उनको अमेरिकी जीवन त्यति सजिलो त छैन, व्यस्त का व्यस्त । ‘अझ अब त घरकाले बच्चा जन्माउ भने भने के गर्छौ ?’ भन्ने पंक्तिकारको प्रश्नको जवाफमा हाँस्दै र काममा जान तयार हुँदै मेरी साथीले भनिन्, ‘नेपाल हो र यो बच्चा पाउ वा कहिले पाउँछौ भनेर दबाब दिनलाई, यो अमेरिका हो, जहिले मलाई मन लाग्छ त्यहिले पाउँछु नि !’
 

अन्तिम अपडेट: चैत ११, २०८०

आरती शर्मा

आरती शर्मा हाल अक्सफाम नेपालमा लैंगिक कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया