थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

 असार १९, २०७५ मंगलबार १२:५:१ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको एउटा गुफामा नौ दिनदेखि बेपत्ता भएका १२ बालक र उनीहरुको फुटबल प्रशिक्षक सकुशल भेटिएका छन् । तर अब सबैभन्दा ठूलो चुनौती भनेको उनहरुलाई बाहिर निकाल्न भएको थाई सेनाले बताएको छ ।

चियंग रायमा रहेको गुफामा नौ दिनेदेखि फसिरहेका उनीहरुलाई सोमबार गोताखोरहरुले फेला पारेका थिए । गुफामा पानीको मात्रा बढी भएकाले उनीहरुको उद्धारमा समस्या भएको अधिकारीहरुले जनाएका छन् । उद्धारमा खटिएका सेनाका अधिकारीहरुका अनुसार बालकहरुले कि त अब पौडिन सिक्नुपर्छ, कि त पानीको मात्रा घट्ने बेलासम्म पर्खनुपर्नेछ । त्यसको लागि एक महिनासम्म पनि लाग्न सक्ने बताइएको छ ।

लगातार जलस्तर बढ्दै गएकाले उद्धारमा खटिएका गोताखोर र सैनिकहरुलाई पनि चुनौती थपिएको छ । उनीहरु अहिले बालकहरुलाई खाने कुरा र औषधीको व्यवस्था गरिरहेका छन्  ।

सेनाका अनुसार गुफाभित्र फसेकाहरुलाई यस्तो खाना जुटाइँदैछ कि जुन चार महिनासम्म केही नहोस् । यो गुफामा वर्षातको समयमा सधैँ पानी भरिने गर्दछ । बाढीको पानी गुफाभित्र सेप्टेम्बरदेखि अक्टोबरसम्म रहने अधिकारी बताउँछन् ।

पम्पबाट गुफाको पानी बाहिर फाल्ने प्रयास भैरहे पनि यसले सोचेअनुरुप सफलता पाएको छैन । सोमबार बेलायती गोताखोरले बालकहरुलाई भेटेपछि बालकहरुले सोधेका थिए, ‘हामी कहिले बाहिर निस्कन सक्छौँ ?’ तर पौडिएर त्यहाँसम्म पुगेका गोताखोरले आफूहरु दुई जना मात्रै आएको र पछि धेरै मान्छे आउने बताएका थिए । उनीहरु साहसी भएको भन्दै हौसला कायम गर्न गोताखोरले आग्रह गरेका थिए ।

को थिए बालक ?

सबै १२ जना बालक मू पा, जसलाई वाइल्ड बोरका नामले चिनिने फुटबल टिमका सदस्य थिए ।

२५ वर्षीय सहायक प्रशिक्षक इक्कापोल जनथावोंग कहिलेकाहीँ बालकहरुलाई घुमाउन पनि लैजान्थे । दुई वर्ष पहिले पनि यही गुफामा उनीहरुलाई घुमाउन लगेका थिए ।

टिममा सबैभन्दा कान्छा खेलाडी ११ वर्षीय चेन टाइटन हुन् । उनी सात वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका थिए ।

टिमका कप्तान १३ वर्षीय डुआंगपेट डोम हुन् । उनी टिमका मोटिभेटर अर्थात उत्साह बढाउने सदस्य पनि हुन् । 

क्लबका मुख्य प्रशिक्षक नोप्पारात कंतावोंग टिमसँग घुम्न गएका थिएनन् । उनका अनुसार सबै बालक एक दिन प्रोफेसनल फुटबलर बन्ने सपना देख्छन् । उनलाई विश्वास छ कि सबै बालक एकअर्कालाई सहयोग गर्नुका साथै एक्लै कहिल्यै छोड्ने छैनन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया