नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

 असार १९, २०७५ मंगलबार ६:१५:२६ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको एउटा गुफामा नौ दिनदेखि बेपत्ता १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सकुशल भेटिएको छ ।

११ वर्षदेखि १६ वर्षसम्मका उमेरका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए । उनीहरु चियाङ रायमा रहेको थाम लुवाङ गुफामा जुन २३ मा घुम्न गएका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएको थियो । 

अन्तर्राष्ट्रिय उद्दार टोलीले उनीहरुलाई सोमबार भेटेपछि पूरै थाइल्याण्डमा खुशी छाएको छ । थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन तथा बेलायती गोताखोरहरुले उनीहरुलाई भेटेका  हुन् । चियाङ रायका गर्भनर नरोङसाक ओसोत्तनाकोर्नले १३ जना नै सकुशल रहेको पुष्टि गरेका छन् । 

बाढीका कारण गुफाभित्र पूरै लेदो पसेका कारण उद्दारमा समय लागेको अधिकारीहरुले जनाएका छन् । उद्दारका लागि दुई जना बेलायती उद्दारकर्मी रिक स्ट्यान्टोन र जोन भोलान्थेन गएको हप्ता थाइल्याण्ड आएका थिए । थाइल्याण्डको नाभी फोर्सले फेसबुकमा राखेको भिडियोमा टर्च बाल्दै गुफाको भित्री भागमा पुगेका बेलायती उद्दारकर्मीले ती बालकहरुसँग गरेको कुराकानी सुन्न सकिन्छ । 

‘कति जना छौ ?’ उद्दारकर्मीले सोध्छन् । 

‘तेह्र ।’ उताबाट जवाफ आउँछ । 

‘तेह्र, एकदम राम्रो । ’

उनीहरुले आफूहरुको उद्दार कहिले हुन्छ भनेर सोध्छन् । उद्दारकर्ताले आश्वासन दिँदै भन्छन्, ‘आज होइन, आज होइन । हामी दुई जना मात्रै छौँ । हामी पौडेर आउनुपर्छ । हामी आउँदैछौँ । ओके ? थुपै मान्छे आउँदैछन् । हामी सबैभन्दा पहिले आएका हौँ ।’

एक जना बालकले भन्छन्, ‘इट, इट, इट, उनीहरुलाई हामी भोकै छौँ भनेर भन्दिनुस् है ।’

जब बालकहरुको समूहबाट कसैले आज कुन दिन हो भनेर सोध्छन् ।  उद्दारकर्ता एकछिन रोकिएर भन्छन्, ‘सोमबार, सोमबार । तिमीहरु यहाँ फसेको दश दिन भयो । तिमीहरु एकदमै साहसी छौ ।’ ती दुई गोताखोरले आफूहरु अहिले जानुपर्ने र छिट्टै आउने बताउँछन् । 

‘तपाईँहरुलाई धेरै धन्यवाद’, समूहबाट कसैले भन्छ, ‘कहाँबाट आउनुभएको ?’

‘इंग्ल्याण्ड । द यूके ।’

‘हुन्छ, भोलि भेटौँला ।’

 

उनीहरु गुफाको ४०० मिटरभित्र रहेको र अब उनीहरुलाई बाहिर निकाल्न निकै नै चुनौतीपूर्ण रहेको छ । थाई अधिकारीहरुले गुफाभित्र खानेकुरा खसालिरहेका छन् । परिवारका सदस्यहरु गुफाबाहिर जम्मा भएका छन् । त्यस्तै गुफामा फसेका बालकहरु र प्रशिक्षकका लागि थाइल्याण्डका विभिन्न क्षेत्रमा प्राथना गरिरहेका छन् । 

यसरी गरिँदैछ उद्दार 

भारी वर्षाका कारण गुफामा पानी पसेका कारण उनीहरु हराएका थिए । थाइल्याण्डको जल तथा वायुसेनाले उद्दारका लागि ठूलो अभियान चलाएको थियो । साथै विभिन्न देशका एक हजारभन्दा बढी उद्दारकर्मीहरु उद्दारमा खटिएका छन् । 

गुफामा पसेको पानी निकाल्न उद्योगहरुमा प्रयोग हुने पम्पको प्रयोग गरिएको छ । 

थर्मल क्यामेरा तथा ड्रोनको सहायताले भित्रको अवस्थाका बारेमा जानकारी लिने काम भैरहेको  छ । साथै भित्र पठाइएको रोबोटले पानीको मात्राका बारेमा जानकारी दिइरहेको छ । 

गुफाभित्र फसेका बालकहरुको बारेमा पूरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया