विश्वकपमा अफगानिस्तानको दोस्राेपटक सहभगिता, अभ्यास खेलमा जस्तै सफलता हात पार्न सक्ला ?

 जेठ १३, २०७६ सोमबार ११:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

मे ३० मा इंग्ल्याण्डमा सुरु हुने क्रिकेट विश्वकप अफगानिस्तान टिमका लागि दोस्रो सहभागिता हुनेछ । अष्ट्रेलिया र न्यूजील्याण्डमा भएको अघिल्लो संस्करणमा स्कटल्याण्डविरुद्ध अफगानिस्तानले एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । विश्वकपमा अफगानिस्तानको एकमात्र जित हो ।

दुई अंक बनाउँदै अफगानिस्तान समूहको पुछारबाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा असफल भयो । अफगानिस्तानको परिचय यो विश्वकमा फेरिएको छ । सन् २०१७ मा टेस्ट मान्यता पाएपछि अफगानिस्तान क्रिकेटको स्तर आकाशिएको छ । सन् २०१८ मा भएको विश्वकप छनोट प्रतियोगितामा विजेता बन्दा फाइनलमा अफगानिस्तानले वेष्ट इण्डिजलाई हराएको थियो । 

यो संस्करणमा अफगानिस्तान अण्डरडग टिम बन्न सक्ने अनुमान क्रिकेट विश्लेषकहरुले गरेका छन् । आफगानिस्तानले विश्वकप अघिको वार्म अप म्याचमा आफ्नो क्षमता देखाइसकेको छ । उसले पाकिस्तानलाई तीन विकेटले पराजित गरेको थियो । 

बलिङ क्षत्रमा बलियो रहेको अफगानिस्तान टिममा ब्याटिङको समस्या भने कायमै छ । यो विश्वकपमा ब्याट्सम्यानहरु हावी हुने आँकलन भइरहँदा अफगानिस्तान टिममा उत्कृष्ट ब्याट्सम्यान भने कोही पनि छैनन् । उसका लागि टप अर्डर ब्याट्सम्यान रहमत शाह नै सबैभन्दा राम्रो फर्ममा रहेका खेलाडी हुन् । उनीसँगै अनुभवी खेलाडी मोहम्मद सहदाजले पनि अफगानिस्तानको ब्याटिङ लाइनमा महत्वपूर्ण योगदान दिनेछन् ।

शाहले स्कटल्याण्डविरुद्धको खेलमा हालसालै एउटा शतक प्रहार गरेका थिए । उनी हार्ड हिटरको रुपमा चिनिँदैनन् र स्ट्राइक रोटेल गर्न र एक–दुई रन लिएर टिमको स्कोर उकास्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

शहदाज भने विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । 

वार्मअप म्याचमा हज्रतुल्लाह जजाई, रहमत शाह, हस्मतुल्लाह शिनवारीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मोहम्मद नाविको अलराउण्ड प्रदर्शन अफगानिस्तानको बलियो पक्ष हुनेछ । 

तुलनात्मक रुपमा अफगानिस्तान बलिङमा निकै राम्रो छ । राशिद खान अफागानी टिमका प्रमुख हतियार रहेका छन् । २० वर्षे लेग स्पीनर राशिद खानले विपक्षी टिमका टाउको दुखाइको विषय बन्न सक्नेछन् । 

उनको बलिङ रेकर्ड उत्कृष्ट छ । उनले ५८ एक दिवशीय खेलमा १५.३४ को औषतमा १२५ विकेट लिएका छन् । प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याट्सम्यानलाई पनि उनको बलिङ सामना गर्न चुनौति हुनेछ । खानलाई अफगानिस्तान टिमको मेरुदण्डका रुपमा पनि हेरिएको छ ।

एक दिवशीय बलिङको वरियता क्रममा तेस्रो स्थानमा रहेका राशिद खान ब्याटिङमा पनि निपुण छन् । 
अफगानिस्तानको प्रदर्शन सँधै एकैनासको रहँदै आएको छैन । अन्य ठूला टिमभन्दा पनि अफगानिस्तानले बंगलादेश, श्रीलंका, पाकिस्तान र वेष्ट इण्डिजविरुद्धको खेललाई मौकाका रुपमा प्रयोग गर्न सक्नेछ ।

अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाविरुद्धको खेलमा विश्वकप अभियान सुरु गर्नेछ । जुन एकमा पहिलो खेल खेलेपछि जुन ४ मा अफगानिस्तानले श्रीलंकासँग, ८ मा न्यूजील्याण्डसँग, १५ मा दक्षिण अफ्रिकासँग, १८ मा इंग्ल्याण्डसँग, २२ मा भारतसँग, २४ मा बंगलादेशसँग, २९ मा पाकिस्तानसँग र जुलाई ४ मा वेष्ट इण्डिजसँग खेल्नेछ ।

अफगानिस्तान टिम

गुल्बादिन नइब, मोहम्मद शहजाद, नुर अलि जद्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफ्गान, हस्मतुल्लाह शहिदी, नजिबुल्लाह जद्रान, समिउल्लाह शिनवारी, मोहम्मद नाबि, राशिद खान, दवलत जद्रान, अफ्ताब आलम, हमिद हसन, मुजिब उर रहमान

प्रशिक्षकः फिल सिमोन्स

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया