विश्वकप क्रिकेट : कमजाेर छैन बंगलादेश पनि !

 जेठ १३, २०७६ सोमबार १४:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् १९९९ मा विश्वकप क्रिकेटमा डेब्यू गरेको बंगलादेशले लगातार छैटौँ पटक सहभागिता जनाउँदै छ । तर, उसको प्रदर्शन त्यति सन्तोषजनक भने रहेको छैन । यद्यपि उसले विश्वकपमा खेलको मध्ये ३३ प्रतिशत खेलमा जित निकालेको छ । जसमा एसोसियट राष्ट्रविरुद्धको जित धेरै छन् ।

बंगलादेशले पछिल्लो दुई विश्वकपमा इंग्ल्याण्डलाई हराएको छ । सन् २००७ मा उसले भारत र सन् १९९९ मा पाकिस्तानविरुद्ध जित निकालेको थियो ।

बंगलादेश यसअघि सन् २००७ र २०१७ मा सुपर आठमा प्रवेश गरेको छ । पनि यसअघिको संस्करणमा नकआउट चरणमा पुगे पनि बंगलादेश भारतसँग पराजित भएको थियो ।

बंगलादेशले विश्वकपमा नहराएको कुनै देश छैन । यसले गर्दा बंगालको टाइगरलाई कुनै पनि टिमले कमजोर सोच्ने छैनन् । क्रिकेट विश्लेषकको अनुमानलाई विश्वास गर्ने हो भने बंगलादेश शीर्ष आठमा रहनेछ । तर, टिमका खेलाडी चल्न सकेको अवस्थामा बंगलादेश सेमिफाइनलमा पनि पुग्न सक्नेछ ।

बंगाली टिममा मुस्फिकर रहिम सबैभन्दा प्रभावशाली खेलाडी हुन् । तीनवटा एक दिवसीय विश्वकप खेलिसकेका रहिमको अनुभवी ब्याटिङ बंगाली टिमका लागि बलियो पक्ष हुनेछ । तमिम इकबाल र शकिब अल हसनको उपस्थितिले टिम थप मजबुत भएको छ ।

विश्व वरीयतामा सातौं स्थानमा रहेको बंगलादेशका शकिव अल हसन अलराउण्डरको शीर्ष स्थानमा छन् । ब्याटिङतर्फ मुस्फिकर रहिम वरीयता क्रमको २०औं स्थानमा छन् भने बलिङतर्फ मुस्ताफिजुर रहमान र शकिब अल हसन शीर्ष २० मा परेका छन् ।

बंगलादेशले दक्षिण अफ्रिकाविरुद्धको खेलबाट विश्वकपको थालनी गर्नेछ । जुन २ मा दक्षिण अफ्रिकासँग खेलेपछि बंगलादेशले जुन ५ मा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले जुन ८ मा इंग्ल्याण्डसँग, ११ मा श्रीलंकासँग, १७ मा वेष्ट इण्डिजसँग, जुन २० मा अष्ट्रेलियासँग, २४ मा अफगानिस्तानसँग, जुलाई २ मा भारतसँग र जुलाई ५ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेश टिमको कप्तानी माश्रफे मोर्तजाले गर्नेछन् । टिममा तमिम इकबाल, लिटन दास, शौम्य सरकार, मुस्फिकुर रहिम, महमुदुल्लाह रियाद, शकिब अल हसन, मोहम्मद मिथुन, सब्बिर रहमान, मासादेक हुसेन, मोहम्मद सैफुदिन, मेहिदी हसन, रुवेल हुसेन, मुस्ताफिजुर रहमान र अबु जायद छन् ।

टिमका प्रशिक्षक दक्षिण अफ्रिकाका स्टिभ रोह्ड्स हुन् ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया