'बम पड्काउने'लाई प्रधानमन्त्री ओलीको प्रश्न : माग के हो ?

'सरकारले प्रेस स्वत्नत्रताकाे शत प्रतिशत ग्यारेण्टी दिन्छ'

 जेठ १३, २०७६ सोमबार १७:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय भैरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’ प्रश्न राख्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । संविधान बमोजिम नै निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै उहाँले सोध्नुभयो, ‘अब के चाहियो ?’ प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो । 

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ ।  नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने बताउनुभयो । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने ओलीले स्पष्ट पार्नुभयो । ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।  

प्रधानमन्त्री ओलीले पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता औंल्याउनुभयो । ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सीमा नाघ्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने पनि बताउनुभयो । उहाँले मानवअधिकारलाई एउटा पक्षबाट मात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने धारणा राख्नुभयो ।

'तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन'

प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताउनुभयो । ‘मानव अधिकारको चर्चा लोकतन्त्रमा नै हुन्छ, तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन,’ उहाँले भन्नुभयो ।

घरघरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले घरघरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया