‘मिडिया काउन्सिल विधेयक’ फिर्ता गर्न सांसदसँग पत्रकार महासंघको अनुरोध

 जेठ १४, २०७६ मंगलबार १६:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकबारे आज विभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । 

कार्यक्रममा राष्ट्रिय सभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेस गर्न बाँकी रहेको बताउनुभयो । 

उहाँले मिडिया काउन्सिल विधेयकमा चासो बढेकाले प्रतिपक्ष पार्टीका सांसद, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलगायत सरोकारवालासँग छलफल गरी सहमतिका आधारमा अघि बढाउने गरी हाललाई त्यो विधेयक रोकिएको बताउनुभयो । उहाँले लोकतन्त्रको विश्वव्यापी मूल्य मान्यता तथा संविधानको मर्मविपरीत कुनै पनि ऐन, कानुन र विधेयकहरु राष्ट्रिय सभाबाट अगाडि नबढाउने बताउनुभयो । 

प्रतिनिधिसभा सांसद् तथा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले विचलन ल्याएको बताउनु भएको छ । राज्यले पत्रकारलाई कलम चलाएबापत दण्ड गर्ने नियतबाट त्यो विधेयक ल्याएको भन्दै उहाँले नागरिकको आवाजलाई रोक्ने विधेयकलाई सरकारले फिर्ता गर्नुपर्ने र लोकतान्त्रिक पद्धति रहेको देशमा त्यसका मूल्य मान्यतालाई पालना गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रतिनिधिसभाका सांसद् तथा राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पत्रकारको अधिकार खोस्नु भनेको लोकतन्त्रको अधिकार खोसिनुसरह रहेको बताउनुभयो । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतलाई स्वीकार गरिसकेपछि कुनै पनि कानुन त्यसको विपरीत आउनु नहुने भन्दै उहाँले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानहरु प्रेस स्वन्त्रता विरोधी रहेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको धारणा राख्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रस्तावित मिडिया काउन्सिल विधेयक अन्तर्राष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यताविपरीत रहेको भन्दै त्यसलाई फिर्ता गर्नुपर्छ भन्ने महासंघको स्पष्ट धारणा रहेको बताउनुभयो । महासंघ कानुन नै बनाउनु हुँदैन भन्ने पक्षमा नरहेको भन्दै उहाँले यदि उक्त विधेयकलाई संशोधन गर्ने हो भने महासंघले दिएको सुझावका आधारमा संशोधन गरिनुपर्ने बताउनुभयो । 

महासंघका केन्द्रीय सदस्य यम विरहीले नेपाल मिडिया काउन्सिल विधेयकको प्रस्तावनादेखि हरेक दफामा परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो । 

कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले जुनसुकै सरकारका पालामा पत्रकार तथा प्रेसले आन्दोलन गर्नुपरेको भन्दै सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने धारणा राख्नुभयो । 

प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति मिडिया काउन्सिल विधेयकको बिरोध गरेको भन्दै त्यस विधेयकलाई  फिर्ता गर्न पहल गरिदिन आग्रह गर्नुभयो । 

क्रियाशील पत्रकार संघका अध्यक्ष अम्बिका राजथलाले मिडिया काउन्सिल विधेयकको अध्ययन गर्दा लैङ्गिकमैत्री नदेखिएको भन्दै संविधानको परिकल्पना, मर्म र भावनाअनुसार त्यसलाई समावेशी गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया