डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
सप्तरी – सप्तरीको विद्युत आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२-३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको रुपनी सबस्टेसन आजबाट सञ्चालन (चार्ज)मा आएको हो । अब पूर्व–पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत रुपनी सबस्टसनमार्फत सप्तरीमा आपूर्ति हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
‘सिरहाको लाहानबाट झण्डै २५ किलोमिटर ३३ केभी लाइनमार्फत विद्युत ल्याएर रुपनीमा रहेको सबस्टेसनबाट सप्तरीका विभिन्न ठाउँमा आपूर्ति भइरहेको थियो । लामो दूरीबाट विद्युत ल्याएर आपूर्ति गर्दा कम भोल्टेज, प्राविधिक चुहावट, लाइन ट्रिप हुने लगायतका समस्या थिए,’ घिसिङले भन्नुभयो, ‘अब पूर्व पश्चिम १३२ केभीमार्फत प्रवाह भएको विद्युत्लाई रुपनी सबस्टेसनमार्फत सप्तरीमा वितरण हुन्छ, यसबाट त्यस क्षेत्रको भोल्टेजमा सुधार हुन्छ, प्राविधिक चुहावट घट्छ र उपभोक्ताले विश्वसनीय तथा गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउँछन् ।’
रुपनी सबस्टेसनबाट ५ वटा फिडरमार्फत सप्तरीका राजविराज, बलरदा, बरसाइनलगायतका क्षेत्रमा विद्युत आपूर्ति गरिएको आयोजना प्रमुख निरंजन साह सुडीले जानकारी दिनुभयो ।
सबस्टेसन निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशन र मुडबरी एण्ड जोशीको संयुक्त उपक्रम (जेभी)सँग २०७२को भदौमा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि देशभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
देशबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, बर्दियाको राजापुर, कैलालीको हसुलियालगायतका सबस्टेसन सञ्चालनमा आइसकेका छन् ।
चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।