गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति

 जेठ १५, २०७६ बुधबार ७:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ । 

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ ।

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्नुभएको छ । 

यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया