समृद्ध देश बनाउन रगत होइन अब पसिना बगाए पुग्छ : मुख्यमन्त्री पौडेल

 जेठ १५, २०७६ बुधबार १०:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समुन्नत र समृद्ध देशको रुपमा स्थापित गर्न अबको पुस्ताले रगत बगाउनु नपर्ने बताउनुभएको छ । 

गणतन्त्र दिवस मूल समारोह समिति प्रदेश नम्बर ३ को आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको पुस्ताले समृद्ध नेपाल निर्माणका लागि श्रम र पसिना बगाए मात्र पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी जहाँ छौं, त्यहीँ इमान्दार प्रयत्न गरे पुग्छ । आलोचना, कुण्ठा, निन्दा र नकारात्मक सोचबाट होइन, सकारात्मक सोच, इमान्दारपूर्ण लगाव, धैर्यता र सिर्जनशिलताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छ ।’

‘देशले अब रगत होइन, श्रम र पसिना खोजेको छ’ उहाँले भन्नुभयो, ‘सही योजना निर्माण र व्यवहारिक रुपमा योजना कार्यान्वयन देशले खोजेको छ । को सत्तापक्ष, को प्रतिपक्ष? पार्टी, जातजाति, धर्म, सम्प्रदायभन्दामाथि उठेर समृद्धिको अभियानमा हामी सबै लाग्नु अहिलेको आवश्यकता हो ।’

उहाँले गणतन्त्रसम्म आइपुग्दा यो देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदप्रति श्रदाञ्जली पनि व्यक्त गर्नुभयो ।

हातमा सीप र पाखुरीमा बल भरिएकाहजारौं युवाहरुलाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए सुखी नेपाली समृद्ध नेपाल नर्माणको राष्ट्रिय संकल्प पूरा गर्न सकिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । अब कसैले पनि अधिकारको लडाइ लड्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया