नागरिकको विजय र कुलीनतन्त्रको पराजय भएको दिन हो, गणतन्त्र दिवस : प्रधानमन्त्री ओली

 जेठ १५, २०७६ बुधबार १२:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस नागरिकको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आएको दिनलाई नेपाली नागरिकले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउनुभयो । 

ओलीले भन्नुभयो, ‘हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् ।’

प्रधानमन्त्री ओलीले ११ वर्षअघि आजकै दिन नागरिकले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण पनि गर्नुभयो । ‘नेपाली नागरिकले जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे । जुन प्रणाली, नेपालमा सयौं वर्षसम्म चलेको थियो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु थिए । उनीहरु नागरिकबाट चुनिन्थे । उनीहरु पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन् ।’

प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई  एउटा प्रगतिशील परम्पराको सुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ । ‘यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन भन्ने पनि बताउँदैछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले आमनागरिकले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने व्यवहारले नागरिक, नागरिकको बलिदान र अधिकारको अपमान हुने बताउनुभयो । ‘नागरिकले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ,’ उहाँले भन्नुभयो । समाजलाई समृद्ध बनाउनका लागि  सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले गएको एक वर्षको अवधिमा सरकारले  सुशासन र विकासका लागि अवरोध पुर्‍याउने असान्दर्भिक नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज गरेको बताउनुभयो । 

‘सुशासन र विकासको स्पष्ट प्रतिबद्धतासहित सरकारको नीति तथा कार्यक्रम संसदले पारित गरिसकेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु क्रियाशील छन् । सबै सरकारलाई एउटै लय र तालमा गन्तव्यतर्फ अग्रसर गराउनु हाम्रो दायित्व हो ।’

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया