वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको कांग्रेस सभापति देउवाकाे आराेप

 जेठ १५, २०७६ बुधबार १२:४०:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाउनु भएको छ ।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्थामा रहन पनि पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।

गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाण्डौको शान्ति वाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ सभापति देउवाको भनाई थियो, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता तथा कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाइ गरेको पनि स्मरण गराउनु भयो । उहाँले धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

‘लोकतन्त्रका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गर्नेछ,’ सभापति देउवाले भन्नुभयाे।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया