गुणस्तरीय बिजुलीका लागि विद्युत प्राधिकरणको अभियान : रोल्पाको कोइलाचौर सबस्टेसन सञ्चालनमा

 जेठ १५, २०७६ बुधबार १४:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । 

रोल्पा र सल्यानको विद्युत आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट सञ्चालन (चार्ज)मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार सबस्टेसनबाट तीन वटा ११ केभी फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौर जुँगार, सिम्पानी, पाखापानी, जिनाबांग, बुढागाउँ र सल्यानको उत्तरपूर्वी भेगमा विद्युत आपूर्ति गरिने छ । 

यसबाट झण्डै ३० हजार नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो । दाङको तुलसीपुरबाट झण्डै २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेसन विद्युत आपूर्ति गरिएको छ । प्राधिकरण र इष्ट इन्डिया÷बाक्ष्बा इन्फ्राटेक जेभीबीच सबस्टेसन निर्माणका लागि ९ करोड ३८ लाख रुपैयाँमा आर्थिक वर्ष ०७१/७२मा ठेक्का सम्झौता भएको थियो । ठेक्का ०७२को असारबाट कार्यान्वयनमा आएको थियो । 

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि देशभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । 

देशबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, सप्तरीको रुपनी, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, वर्दियाको राजापुर, कैलालीको हसुलियालगायतका सबस्टेसन सञ्चालनमा आइसकेका छन् । 

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले  एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउनेलगायतका काम गरिरहेको छ । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया