परदेशी छोराछोरी सम्झँदै...

 जेठ १७, २०७६ शुक्रबार १६:३९:५८ | रासस
unn.prixa.net

                “छैनन् भनम् छन् छोराछोरी,
                फर्किनन् घर बाबुआमा नमरी
                छोरो अमेरिका छ, छोरी जापानतिर छ
                तिनले त बिर्से बाबुआमा, हाम्लाई तिनकै पीर छ ।” 
    
गायक शिरिष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा यी गीतका हरफ सुन्नेबित्तिकै विदेशिएका छोराछोरी सम्झेर नभक्कानिने बाबुआमा कमै होलान् । उच्च र मध्यम वर्गीय परिवारका धेरै छोराछोरी पढ्न र कामका सिलसिलामा अमेरिका, बेलायत, जापान, अष्ट्रेलियालगातका देशमा जाने गरेका छन् तर बाबुआमा बिरामी पर्दा पनि आउन नसक्ने अवस्था देखिएको छ । 

अहिलेको नेपाली समाजको जल्दोबल्दो र यथार्थ सामाजिक विषयलाई लिएर बनाएको गीतले धेरै बाबुआमाको मन छोएको छ । किनकी धेरैका छोराछोरी युरोपतिर छन् । काम र पढाइको तनाबले आफूले चाहेका बेलामा बाबुआमालाई भेट्न आउन सक्दैनन् । बाबुआमा भने छोराछोरीकै पर्खाइमा दिन बिताउँछन् । गीतमा ती पीडालाई यसरी प्रस्तुत गरिएको छ ।
    
        ‘बाटो हेर्दै बस्छाैँ दिनभरि 
        आउँछन् जहाज, आउँदैनन् छोरछोरी ।’
    
आफ्नो भविष्य बनाउन विदेश लागेका छोराछोरीलाई आफ्नो कामले बाबुआमा सिकिस्त बिरामी नै भए पनि भनेको समयमा भेट्न आउन पाउँदैनन् । बरु उपचारका लागि पैसा पठाइन्छन् तर बाबुआमाले आफ्नो सन्तानको अनुहार हेर्न चान्छन् । जुन पीडा गीतमा यसरी प्रस्तुत गरिएको छ :

        “आमा बिमार छ बाबु आऊ भन्यो 
        कति पैसा पठाइदिउँ बाउ भन्यो ।’

यी गीतका शब्दमा भनिए झैँ बाबुआमालाई आफ्नो अन्तिम अवस्थामा एकपटक छोराछोरीको मुख हेरेर मर्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर छोराछोरीको व्यस्ता र अवसरलाई चट्ट छोडेर आउन नसक्दा बिरामी बाबुआमाको मृत्यु हुन्छ । छोराछोरी बाबुआमा मरेको खबर थाहा पाएपछि पीडामा घर फर्किने यथार्थ छ ।

रमेश बिजीको शब्दमा रहेको सो गीतमा चर्चित कलाकार निर शाह (बाबु), हीउँवाला गौतम(आमा) ले आमाको भूमिकामा अभिनय गर्नुभएको छ । त्यस्तै विदेशमा रहेका छोराछोरीको अभिनय श्रीप्रसाद थापा(छोरा) र सोनी गुरुङ (छोरी) गर्नुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यही जेठ १२ गते त्याे गीत सार्वजनिक गर्नुभयो । नेपाली समाजको वास्तविकतालाई गीतले समेट्न सफल भएको टिप्पणी गर्दै मन्त्री विष्टले भन्नुभयो, 'नेपाली समाजका लागि निकै मार्मिक र प्रेरणादीय गीत बनेको छ, हजारौँ बाबुआमाको बेदनालाई गीतले बोक्न सफल भएको छ ।' नयाँ ढङ्गले फरक शैलीमा तयार गरिएको गीतले धैरे नेपालीको मन छाएको छ ।

गीतको म्युजिक भिडियोमा बाबुको भूमिकामा अभियन गर्नुभएका कलाकार निर शाहले आफूले गीतको शब्द सुन्नेबित्तिकै मुटु चस्किएको अनुभव सुनाउँदै भन्नुभयो, 'गीतले नेपाली समाजमा जहातहीँ भेटिने पीडा बोलेको छ, नेपाली समाजको वास्तविकतालाई समेटिएको छ ।'

गायक देवकोटाले आफूले तीन वर्ष मेहनत गरेर नेपाली समाजको भावनात्मक पीडालाई बाहिर ल्याउन सफल भएकामा खुशी व्यक्त गर्दै भन्नुभयो, 'उच्च शिक्षा र अवसरका लागि गएका छोराछोरी विदेशिए, भौतिक सुखका कारण नफर्केपछि बाबुआमका पीडा धेरै देखेँ त्यही पीडालाई गीतका रुपमा ल्याएँ ।'

गीतको शब्द सिर्जना गर्नुभएका रमेश बिजीले खाडी देशका गीत धेरै गाएको तर धनसम्पत्ति भएर पनि मर्ने बेलामा बाबुआमाले सन्तानकै मुख हेर्न नपाउने अवस्थालाई गीतमार्फत ल्याएको सुनाउनुभयो । विदेशिएका छोराछोरी सम्झिँदै गीतमा यसरी पीडा पोखिएको छ,
    
        “लागेको छ मुख मात्रै हेर्न मन
        तिनकै काखमा अन्तिम श्वास फेर्ने मन ।”

हेर्नुहाेस् गीत

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया