कर्मचारीले बन्द/हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग

 जेठ १७, २०७६ शुक्रबार १७:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द/हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलवसहितको सेवा, सुविधा प्राप्तिका लागि पनि बन्द/हड्ताल गर्ने काम कर्मचारीहरुबाट भैरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले राज्यको सेवा, सुविधा लिएर बसेका कर्मचारीहरुले जनताको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने तर्कसमेत गर्नु भयो ।

सांसद सुवालले विशिष्ट श्रेणीका कर्मचारीहरुलाई मात्र नभई तल्लो तहका कर्मचारीलाई पनि सेवाबाट अवकाश पाउनु १५ दिन अघि देखिनै विदा दिने कानुनी प्रबन्ध गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधिसभाका अर्का सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुलाई पनि संघमा सरुवा भएर आउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भयो । उहाँले स्थानीय र प्रदेश तहमा गएका कर्मचारीहरुको सरुवा, वृति विकास हुने कुरालाई कानुनमै उल्लेख गरेर जान उपयुक्त हुने पनि स्पष्ट पार्नु भयो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका सबै कर्मचारीहरुको सरुवा हुने व्यवस्था गरिएको बताउनुभयो । उहाँले संघीयता अनुकूल समायोजना गरिएका कर्मचारीहरुलाई सुरुवा, बढुवा र आवश्यक सबै सेवा, सुविधा दिने कुरामा शंका नगर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

मन्त्री पण्डितले कर्मचारीहरुलाई दिइएको जिम्मेवारी पूरा गर्न पनि सचेत गराउनु भयो ।

 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया