गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार ठड्याउन जुटे मेयरदेखि सांसदसम्म

 जेठ १८, २०७६ शनिबार ८:२९:१० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – केही स्थानीयले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि रोकिएको निर्माण कार्य सुरु भएको छ ।

शनिबार चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार पुनर्निमाणमा जुटेका हुन् ।

शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो । 

चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका छन् । त्यस्तै बार बनाउने काममा स्थानीयहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । 

गएको बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएका थिए । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ । स्थानीय भने धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

 

 

अन्तिम अपडेट: चैत ३०, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया