विश्वकप क्रिकेट : शनिबारकाे पहिलाे खेलमा 'डार्क हर्स' भर्सेज श्रीलंका, दाेस्राे खेलमा अष्ट्रेलिया भर्सेज अफगानिस्तान

 जेठ १८, २०७६ शनिबार १२:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्ककप अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार पहिलो खेलमा सवा तीन बजे न्यूजिल्याण्ड र श्रीलंका  खेल्दैछन् । यी दुईबीचको खेल कार्डिफको सोफिया गार्डेन्स मैदानमा हुनेछ ।

न्युजिल्याण्डलाई विश्वकपमा 'डार्क हर्स' भन्ने गरिन्छ । उसले यो संस्करणमा पनि यो छवि कायम राखेको छ । एकदिवसीय विश्व वरियतामा न्युजिल्याण्ड अहिले तेस्रो स्थानमा छ । विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक केन विलियमसनको उपस्थितिका कारण पनि न्यूजिल्याण्ड टिमको प्रदर्शन उच्च हुने अनुमान छ । 

उनीसँगै ट्रेन्ट बोल्ट र टिम साउथीको जोडीले न्यूजिल्याण्डको बलिङ आक्रमणमा महत्वपूर्ण भूमिका खेल्नेछन् । बोल्ट र साउथी जस्ता तीव्र गतिका बलरको जोडीलाई यो संस्करणमा उत्कृष्ट मानिएको छ ।

केन, विलियम्सन, रस टेलर, मार्टिन गप्टिल र कोलिन मुन्राेजस्ता टप अर्डर ब्याट्सम्यानले न्यूजिल्याण्डको इनिङलाई ३५० रनसम्म उकास्न सक्नेछन् । यी खेलाडीसँगै रस टेलर अर्को खेलाडी हुन्, जसले न्यूजिल्याण्डको इनिङमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् । श्रीलंकाविरुद्ध जित हात पारेर न्यूजिल्याण्ड प्रतियोगितामा राम्रो सुरुवात गर्न चाहन्छ ।

श्रीलंका भने यो संस्करणमा निकै कमजोर देखिएको छ । विश्व वरीयतामा अहिले श्रीलंका नवौं स्थानमा छ । अघिल्लो संस्करणमा श्रीलंका क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

श्रीलंकाली टिममा कुशल मेन्डिसले उत्कृष्ट प्रदर्शन गर्न सक्ने अनुमान रहेको छ । विपक्षी टिमका लागि मेन्डिस चुनौती हुन सक्नेछन् । भेटरान बलर लसिथ मालिङ्गा श्रीलंकाली क्रिकेट टोलीका मुख्य हतियार रहनेछन् । तर उनको मात्र प्रदर्शन श्रीलंकाली टिमका लागि पर्याप्त हुनेछैन । उनलाई सुरंगा लक्मलले साथ दिनेछन् । ३२ वर्षे लक्मलको अनुभव र पछिल्लो समयमा देखिएको प्रदर्शनको एकरुपताका कारण उनीबाट श्रीलंकाली समर्थक र टिमले ठूलो अपेक्षा गरेको छ । 

अष्ट्रेलिया भर्सेस अफगानिस्तान

विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले यो संस्करणको सुरुवात सबैभन्दा सफल टिमविरुद्धको खेलबाट गर्दैछ । एघार संस्करण सकिँदा अष्ट्रेलियाले पाँच पटक उपाधि जितिसकेको छ । यी दुईबीचकाे खेल नेपाली समयानुसार साँझ छ बजे ब्रिस्टाेलकाे काउन्टी मैदानमा हुनेछ ।

यो संस्करणमा अष्ट्रेलियालाई कमजोर आँकलन गरिएको छ । पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाउन र जित हात पार्दै सुरुवात गर्नु अष्ट्रेलिया टिमका लागि प्रोत्साहनको कडी हुनेछ ।

ब्याटिङतर्फ डेभिड वार्नर र स्टेभ स्मिथको प्रदर्शन डिफेन्डिङ च्याम्पियनको प्रमुख हतियार रहनेछन् । टिममा ठूलो इनिङ खेल्न सक्ने अन्य खेलाडी पनि समावेश छन् । उश्मान ख्वाजा, ग्लेन म्याक्सवेल र शन मार्सजस्ता खेलाडीले अष्ट्रेलियाको योगफलमा महत्वपूर्ण योगदान दिन सक्नेछन् । 

बलिङतर्फ पनि मिचेल स्टार्क विपक्षी टिमका लागि खतरापूर्ण हुनेछन् । त्यस्तै उत्कृष्ट फर्ममा रहेका प्याट कमिन्स प्रशिक्षक जस्टिन लांगरका अर्का हतियार हुन् ।

यो संस्करणमा अफगानिस्तान 'अण्डरडग' टिम बन्न सक्ने अनुमान क्रिकेट विश्लेषकहरुले गरेका छन् । आफगानिस्तानले विश्वकप अघिको वार्म अप म्याचमा आफ्नो क्षमता देखाइसकेको छ । उसले पाकिस्तानलाई तीन विकेटले पराजित गरेको थियो ।

बलिङ क्षेत्रमा बलियो रहेको अफगानिस्तान टिममा ब्याटिङको समस्या भने कायमै छ । यो विश्वकपमा ब्याट्सम्यानहरु हावी हुने आँकलन भइरहँदा अफगानिस्तान टिममा उत्कृष्ट ब्याट्सम्यान भने कोही पनि छैनन् । उसका लागि टप अर्डर ब्याट्सम्यान रहमत शाह नै सबैभन्दा राम्रो फर्ममा रहेका खेलाडी हुन् । उनीसँगै अनुभवी खेलाडी मोहम्मद सहदाजले पनि अफगानिस्तानको ब्याटिङ लाइनमा महत्वपूर्ण योगदान दिनेछन् ।

शाहले स्कटल्याण्डविरुद्धको खेलमा हालसालै एउटा शतक प्रहार गरेका थिए । उनी हार्ड हिटरको रुपमा चिनिँदैनन् तर स्ट्राइक रोटेट गर्न र एक/दुई रन लिएर टिमको स्कोर उकास्न सक्ने क्षमता भएका खेलाडी हुन् । शहदाज भने विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

राशिद खान अफागानी टिमका प्रमुख हतियार रहेका छन् । २० वर्षे लेग स्पिनर राशिद खानले विपक्षी टिमका लागि टाउको दुखाइको विषय बन्न सक्नेछन् । उनको बलिङ रेकर्ड उत्कृष्ट छ । उनले ५८ एकदिवसीय खेलमा १५ दशमलव ३४ को औसतमा १२५ विकेट लिएका छन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट ब्याट्सम्यानलाई पनि उनको बलिङ सामना गर्न चुनौती हुनेछ । खानलाई अफगानिस्तान टिमको मेरुदण्डका रुपमा पनि हेरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया