चितवन दुधमा आत्मनिर्भर

 जेठ ३०, २०७६ बिहिबार १०:४७:११ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन जिल्ला दुधमा आत्मनिर्भर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई औपचारिक रुपमा दूधमा आत्मनिर्भर बनेको घोषणा गरिएको छ  । चितवनमा वार्षिक प्रतिव्यक्ति आवश्यकता भन्दा दुध उत्पादन बढी देखिएकाले जिल्लालाई दुधमा आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

दुधमा आत्मनिर्भर हुने चितवन दोश्रो जिल्ला बनेको छ । यसअघि काभ्रे दुधमा जिल्ला आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले तीन महिना लगाएर गरेको अध्ययनले चितवनलाई पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो ।

रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्वर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणा गर्नुभएको हो । जिल्लामा वार्षिक दूध उत्पादन परिणामलाई आधार मान्दा वार्षिक प्रति व्यक्ति दूधको आवश्यकता भन्दा बढी हुन आएकोले चितवन जिल्लालाई विधिवत रुपमा दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो ।

विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलिलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दुध प्रयोग गर्नुपर्छ । यसलाई आधारमान्दा चितवनमा रहेको ६ लाख २५ हजार जनसंख्यालाई दैनिक १ लाख ५६ हजार लिटर दुध आवश्यक पर्छ । चितवनमा दैनिक दुई लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएकोले जिल्ला दुधमा आत्मनिर्भर रहेको जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रप्रमुख डा.विजय श्रेष्ठले बताउनुभयो ।

जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दुध वाहिरी जिल्लामा विक्री भइरहेको छ । चितवनको दूध काठमाण्डौ, कास्की जिल्लासंगै छिमेकी जिल्लामा जाने गरेको छ । केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन् ।

घोषण पूर्व विभिन्न समिति र उपसमितिहरु गठन गरी जिल्लामा दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको बताउदैचितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेचितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएको तथ्यांक पाइएको जानकारी दिनुभयो ।

पछिल्लो समय युवा पुस्ता समेत पशुपालन तर्फ आकर्षित भएकाले दुधको उत्पादन बढ्दै गएको हो । जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील रहेको जानकारी दिदै उहाँले सरकारले सहयोग गरेमा पाँच वर्षभित्रमा अहिलेको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने बताउनुभयो । दुधमा आत्मनिर्भर भएको घोषणा पश्चात कृषक खुसी भएको बताउदै अध्यक्ष न्यौपानेले आत्मनिर्भर भएपछि राज्यले सहयोग र प्रोत्साहन गर्ने आस पलाएको बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया