आमाकाे ज्यान लिएपछि बावु थुनामा: टुहुरा बालबालिकाकाे पठनपाठनकाे जिम्मा नगरपालिकाले लियाे

 असार ५, २०७६ बिहिबार १८:२५:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - बुवाले आमाको हत्या गरेपछि टुहुरा बनेका दिपायल सिलगढी नगरपालिका-३ का पाँच बालबालिकाको पठनपाठनको जिम्मा दिपायल सिलगढी नगरपालिकाले लिने भएको छ ।

यही असार २ गते राति घरायसी विवादलाई लिएर ४५ वर्षीय श्रीमान कृष्ण नेपालीले आफ्नै श्रीमती ४० वर्षीया मीना नेपालीकाे लुगा काट्ने कैंची प्रहार गरी विभत्स हत्या गरेका थिए । आमाको हत्या अभियोगमा बुवा पनि जेल जाने भएपछि छोराछोरी टुहुरा बनेका हुन् ।

कृष्णका ५ छोराछोरीमध्ये जेठी छोरी सृजना कक्षा ११ मा पढ्दैछिन् । २० वर्षीया सृजनालाई तत्काल कुनै रोजगारीमा जोड्नका लागि पहल गर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो,‘सृजनालाइ रोजगारी दिन्छौँ र टुहुँरा बनेका उनका भाई बहिनीलाई नगरपालिकाले पढाउने छ ।’

त्यस्तै १६ वर्षका छोरा अंकित कक्षा ८ मा पढ्दैछन् । उनले आमाको किरिया गरिरहेका छन् । त्यसैगरी १२ वर्षीया छोरी सन्ध्या कक्षा ४ मा, ८ वर्षीया छोरी सोनिया कक्षा २ मा पढ्दैछिन् भने कान्छो छोरा विनायक एलकेजीमा पढिरहेको वडा नम्बार ३ का वडा अध्यक्ष चक्रबहादुर माझीले जानकारी दिनुभयो ।

विपन्न दलित परिवारमा जन्मिएका ती बालबालिका बिचल्लीमा परेपछि स्थानीय सरकारको अनुभूति दिलाउने गरी उनिहरुकाे पठन पाठनको जिम्मा नगरपालिकाले लिएको नगरप्रमुख मलासीले बताउनुभयो । आउँदाे शैक्षिक वर्षमा ती बालबालिकाहरुलाई आवासीय विद्यालयमा पठनपाठनको व्यवस्थाका लागि नगरपालिकाले पहल गर्ने भएको हो ।

यसका साथै किरिया खर्चका लागि पनि नगरपालिकाबाट आर्थिक सहयोग प्रदान गरिएको छ । कैंची प्रहार गरी श्रीमतीको हत्या गर्ने कृष्णका बारेमा विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धान रिपोर्टसहित अदालत पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया