असुरक्षित गर्भपतनका कारण महिलाहरुलाई समस्या

 असार ७, २०७६ शनिबार १६:१३:५१ | विमल बिष्ट
unn.prixa.net

डोटी - दिपायल सिलगढी नगरपालिका-१ की कलावती (नाम परिवर्तन) २७ वर्षकी हुनुभयो । उहाँका दुई छोरा र एक छोरी छन् । सन्तानको रहर पुगेकी कलावती अनपेक्षित गर्भ बसेपछि स्थानीय मेडिकलमा पुगेर गर्भपतनको औषधि खानुभयाे । 

औषधि खाँदा पनि सञ्चो नभएपछि उपचारका लागि उहाँ डडेल्धुरा उप क्षेत्रीय अस्पातलमा गएर जाँच गराउँदा पूर्णरुपमा गर्भपतन नभइसकेका कारण त्यस्तो समस्या भएको डाक्टर थाहा पाउनुभयो ।

उहाँले भन्नुभयो, मैले खाएको औषधिले गर्भ पूरा गएनछ, त्यहाँ गएर तल्लो पेट सफा गरेपछि सञ्चो भयाे ।’

सुरक्षित गर्भपतनका विषयमा रेडियोमा पनि सुनेकाे र त्यही कुरा महिला स्वास्थ्य स्वयंसेविकाले पनि भनेपछि डडेल्धुरा गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजकाल त म मेरा छरछिमेकाका दिदी बहिनीहरुलाई अस्थायी साधन प्रयोग गर्न र आवश्यक परे सूचीकृत स्वास्थ्य संस्थामा गएर मात्र गर्भपतन गराउन सल्लाह दिन्छु ।’

डोटी जिल्लाका १७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भवतन सेवा प्रदान हुँदै आएको छ । सुरक्षित गर्भवतन सेवाको प्रभावकारी बनाउन आईपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले सेवा परियोजना सञ्चालन गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया