अमरिश पुरी: बलिउडका यस्ता खलपात्र, जसले कैयाैँ अभिनेतालाई टक्कर दिए

 असार ७, २०७६ शनिबार १७:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अमरिश पुरी बलिउडको यस्तो नाम हो, जो अभिनेता बन्न आएका थिए तर खलनायकको रुपमा आफ्नो छुट्टै पहिचान बनाए । 

सन् १९३२ जुन २२ मा पाकिस्तानको लाहोरमा जन्मिएका अमरिश पुरी सन् २००५ जनवरी १२ मा दुनियाँबाट अलबिदा भएका थिए । तर खलनायकको रुपमा उनले निभाएको भूमिका आजसम्म पनि भुल्न सकिँदैन । 

'मोगेम्बो' को नामबाट पहिचान बनाउने अमरिश पुरी एक मात्र बलिउडका यस्ता खलनायक हुन्, जसलाई आजसम्म कसैले टक्कर दिन सकेका छैनन् । उनले झण्डै चार सय चलचित्रमा काम गरेका छन् । 

कुनै चलचित्रमा जिद्दी पिताको भूमिका निभाएका उनले कुनै चलचित्रमा खतरनाक खलनायकसम्म बने । अमरिशले कैयाैँ भूमिका निर्वाह गरे तर केही यस्ता भूमिका छन्, जुन आजसम्म पनि सबैको मानसपटलमा छाएको छ । 

सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र 'मिस्टर इण्डिया' मा उनको मोगेम्बो को भूमिका अहिलेसम्म पनि उत्तिकै ताजा छ । यही चलचित्रको डायलग 'मोगेम्बो खुश हुआ' आज पनि उत्तिकै चर्चित छ । त्यसैगरी सन् १९८६ मा प्रदर्शनमा आएको चलचित्र 'नागिना' मा उनको डायलग 'अलक निरंजन बोलत' पनि निकै चर्चित छ । 

शाहरुख खान र सलमान खानको चलचित्र 'करण-अर्जुन' मा अमरिश पुरीको खलनायकको भूमिका दुवै अभिनेतामाथि भारी भएको थियो । चलचित्रमा ठाकुर दुर्जन सिंहको भूमिका निकै दमदार थियो । सन् १९८७ मा प्रदर्शनमा आएको चलचित्र 'लोहा' मा अमरिश पुरीको फिल्मी करियरको सबैभन्दा खतरनाक भूमिका मानिन्छ । यो चलचित्रमा उनको अभिनय मात्र नभई उनको लुक्स पनि निकै डरलाग्दो थियो । 

राकेश रोशनको निर्देशनमा बनेको र सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र 'कोयला' मा अमरिश पुरीको राजा साहबको भूमिका अझै दमदार छ । सन् २००१ मा प्रदर्शनमा आएको चलचित्र 'नायक' मा अमरिशले मुख्यमन्त्रीको भूमिका निभाएका थिए । यो चरित्र पनि निकै चर्चित भएको थियो । 

अमिषा पटेल र सन्नी देओलको चलचित्र 'गदरः एक प्रेम कथा' मा अमरिश पुरीको भूमिका सम्झनलायक थियो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया