संसदमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई लिएर व्यङ्ग्य

 असार ८, २०७६ आइतबार १५:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबादुर देउवालाई लिएर सांसदहरुबीच व्यङ्ग्य नै चल्यो । 

बैठकमा बोल्ने सांसदहरुले आफ्ना मर्यादा नै बिर्सिएर अमर्यादित शब्द प्रयोग गर्दै व्यङ्ग्य गरेपछि सभामुखले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुपर्यो । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल हुँदै गएको, काण्डै काण्डमा फसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’को उपमा दिन भ्याउनुभयो ।  

सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तारुढ दलका सांसद झपट रावलले यस्ता असभ्य र अमर्यादित भाषा संसदको रेकर्डबाट हटाउन माग गर्नु पर्यो । तर सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै गर्दा रावल आफैले पनि कांग्रेस सभापति शेरबहादुर देउवाप्रति अमर्यादित शब्द प्रयोग गर्न पुग्नुभयो । 

उहाँले प्रतिपक्षी दलका नेतालाई आफूले शेरबहादुर देउवा होइन, ‘छेरबहादुर’ देउवा भन्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।  

संसदमा बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उहाँले संसदमा बोलिने भाषाबाट नागरिकमा पर्ने प्रभावका बारेमा हेक्का राख्नु पर्ने बताउनुभयो । 
‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले पनि प्रतिपक्षी दलका नेतालाई शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’ 

सांसद रावलले चौधरीको अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाउन माग गर्नुभयो । सभामुख कृष्णबहादुर महराले त्यसबारेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै पछि निर्णय गर्ने बताउनुभयो । 
‘माननीय सदस्यले राख्नुभएको विषय गम्भीर छ, यसलाई मैले गम्भिरतापूर्वक लिएको छु,’ सभामुख महराले भन्नुभयो, ‘के गर्ने भन्ने निर्णय पछि गर्छु ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया