‘क्लिन फीड’मा वितरकबाहेक सबैको समर्थन : लागू गर्न मह जाेडी, दीपकराज र करिश्माको जोड

 असार ११, २०७६ बुधबार १०:१५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  सरकारले प्रस्ताव गरेको विज्ञापन विधेयकको विरोध गर्दै केबल टेलिभिजन र डीटीएच सेवा प्रदायकले विदेशी टेलिभिजनको प्रसारण बन्द गरेपछि ‘क्लिन फीड’को बहस चुलिएको छ ।  

नेपाल केबल टेलिभिजन महासङ्घ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन विधेयक, २०७६ अनुसार क्लिन फीड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने भन्दै विरोध गरेका छन् । तर आम नागरिकदेखि कलाकारसम्म ‘क्लिन फीड’ को पक्षमा उभिएका छन् ।

क्लिन फीड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकारसँगै राजस्व बढ्ने धेरैको विश्वास छ । नेपाल विज्ञापन सङ्घका अनुसार अहिले नेपालको विज्ञापन बजार करिब आठ अर्ब रुपैयाँको हाराहारीमा छ ।

क्लिन फीड कार्यान्वयनमा आएपछि स्वदेशमै कलाकारदेखि प्राविधिकसम्मको रोजगारीसँगै सरकारी राजस्वमा पनि बढ्ने संघको भनाइ छ । विदेशी विज्ञापन बन्द भएपछि बहुराष्ट्रिय कम्पनीले पनि नेपालमै विज्ञापन बनाउनुपर्ने बाध्यता हुन्छ । यसबाहेक नेपाली भाषामा डबिङ गरेर विज्ञापन प्रसारण भइरहेकोमा त्यो पनि हट्ने हुँदा बजारको अवसर थप बढ्ने छ । 

कलाकारहरुले पनि क्लिन फीड लागू गर्दा देशलाई नै फाइदा हुने बताएका छन् । वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, कलाकारहरु दीपकराज गिरी, अभिनेत्री करिश्मा मानन्धरलगायतले सामाजिक सञ्जालमार्फत क्लिन फीडको स्वागत गरेका छन् । 

वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुकमा लेख्नुभएको छ, ‘विदेशी च्यानलहरुमा प्रसारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्ने नेपाल सरकारले क्लिन फीड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका विक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केही असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केही असर पर्छ ? नेपालमा प्रसारण हुने सबै विदेशी च्यानलहरु विज्ञापनरहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ ।’

अर्का कलाकार दीपकराज गिरीले लेख्नुभएको छ, ‘हामीले गाउँको महका चाका छोडेर डाबर हनी खान थालेको धेरै भो । नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरञ्जनको स्थान अहिले विदेशी ब्रान्डले लिएका छन् । कारण गुणस्तर मात्रै होइन, विदेशी टेलिभिजनमा आउने विज्ञापनको असर पनि हो अतः सरकारले लिएको क्लिन फीडको निर्णय सही छ, समर्थन छ ।

नायिका करिश्मा मानन्धरले पनि समर्थन गर्दै लेख्नुभएको छ, ‘क्लिन फीड स्वागत योग्य । २४ घन्टा मात्रै होइन सकिन्छ भने दिगो हुनुपर्छ । हो हामीलाई लाइभ विदेशी कार्यक्रम हेर्ने सुविधाको लत परेको छ, तर त्यो सुका बचाउन खोज्दा रुपैयाँ गुमाए भनेझैं हुन्छ , दूरदर्शिता राख्यो भने यो देशको हितमा हुनेछ । हो केबल च्यानलहरुलाई अप्ठ्यारो पर्न सक्ला । तर केही नागरिकको फाइदा भन्दा देशको फाइदा सोच्नु पर्छ । यसो गर्दा हाम्रो देशभित्र बन्ने टेलिभिजन सामग्री स्तरीय हुनेछन् ।’

टेलिभिजन वितरकहरू भने नेपालमा प्रसारण हुने च्यानलमध्ये ९५ प्रतिशत च्यानल विदेशी रहेकाले क्लिन फीड लागू गर्न समस्या हुने र नेपाली च्यानलकै भरमा विज्ञापनको बजार विस्तार हुने आधार नभएको बताउँछन् ।

अहिले संसारभर दुई प्रकारका टेलिभिजन च्यानल रहेका छन् । एउटा पे च्यानल हुन्छ जुन च्यानल दर्शकले केबल अपरेटरलाई शुल्क बुझाएर हेर्छन् । अर्को ‘फ्री टु एअर’ च्यानल हुन्छ जुन च्यानल दर्शकले निःशुल्क हेर्न पाउँछन् । ‘फ्री टु एअर’ च्यानलले विज्ञापन बजाउँछन् । तर विश्वव्यापी मान्यताअनुरुप नै ‘पे च्यानल’ ले विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्छ । उनीहरुले पहिले नै दर्शकबाट पैसा लिएका हुन्छन् । 

विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै क्लिन फीड हो । यो अवधारणाअन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन । विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नु परेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो । 

त्यति मात्रै होइन, विदेशी टेलिभिजन च्यानलमा देखाइने विज्ञापनले नेपाली बालबालिकाको मनोविज्ञानमा त असर पुर्याउँछ । साथै ती विज्ञापनमा विदेशी भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने प्रयास गरिएको हुन्छ । यसले नेपालका भाषा र संस्कृतिलाई असर पर्ने संस्कृतिविद् बताउँछन् । 

सरकारले पहिलोपटक २०७३ साउनमा आमसञ्चार नीतिमार्फत क्लिन फिडको व्यवस्था गरेको थियो । २०७४ साउन १ देखि यो लागू हुने भनिए पनि टेलिभिजन वितरककै विरोधका कारण त्यतिबेला स्थगित भएको थियो ।  

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया