लागुऔषध समस्या र चुनौतीको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् : गृहमन्त्री थापा

 असार ११, २०७६ बुधबार १३:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री राम बहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । 

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'लागुऔषध समस्या र अन्तर्निहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुला सीमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण छ ।'

सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उहाँले स्वीकार गर्नुभयो । कानुनको सफल कार्यान्वयनसँगै रोकथाममूलक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उहाँले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । यो वर्ष नेपालमा समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वास्थ्य जीवन भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।  

यस सन्दर्भमा गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । महाशाखाले जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो । 

कार्यक्रम अघि बुधबार बिहान जनचेतनामूलक प्रभातफेरी पनि गरिएको थियो । भृकुटीमण्डपबाट सुरु भएको चेतनामूलक र्‍याली भद्रकाली शहीदगेट, सुन्धारा, न्यूरोड, शान्ति वाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो । र्‍यालीमा लागुऔषधको क्षेत्रमा काम गर्दै आएका संघ-संस्थाका प्रतिनिधिलगायत सर्वसाधरणको उपस्थिति थियो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया