मन्त्री फेर्ने हल्ला र वास्तविकता

 असार ११, २०७६ बुधबार १८:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारत भ्रमणमा जानु अघि गएको वर्ष भदौमा नेपाल कम्युनिष्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल भएका मन्त्रीहरु हेरफेर गर्ने भनेर पहिलो पटक मुख खोल्नुभएकाे छ ।  

विसं २०७५ भदौ २१ देखि तीन दिने दिल्ली भ्रमणमा निस्कनु अघि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेपछि अध्यक्ष दाहालले केही दिनमै मन्त्री फेर्ने भनेर मुख खोल्नु भएको थियो । 

त्यो बेला केही मन्त्रीहरुको कार्यशैलीप्रति नागरिक तहमै चर्को असन्तुष्टि पनि उब्जिएको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, अर्थमन्त्री डा. युवराज खतिवडालगायत मन्त्रीको चर्को आलोचना भैरहेको थियो । 

खासगरी सार्वजनिक यातायातमा रहेको सिण्डिकेट हटाउने भनेर पनि हटाउन नसक्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्नलाई पक्राउ गर्न असफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नागरिक स्तरबाटै आलोचना भएको थियो । गृहमन्त्रीको विरोधमा देशैभर प्रदर्शन पनि भएको थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउने र यातायातको सिण्डिकेट हटाउने काम अझैसम्म पनि हुन सकेको छैन ।  

नागरिक तहबाटै चर्को आलोचना भए पनि त्यो बेला मन्त्री फेर्ने काम भएन । बरु उल्टै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अहिले मन्त्री फेरिने कुनै पनि सम्भावना नरहेको भन्दै प्रचण्डको अभिव्यक्तिको खण्डन गर्नुभएको थियो ।  

त्यसको केही महिनापछि अर्थात् तिहारअघि कात्तिकमा अध्यक्ष दाहालले पोखरा पुगेर फेरि मन्त्री परिवर्तन गर्ने अभिव्यक्ति दोहोर्याउनुभयो । सरकारको कामप्रति असन्तुष्ट देखिनुभएका अध्यक्ष दाहालले मन्त्रिपरिषद् हेरफेर गरेरै भए पनि प्रतिफल आउने हिसाबले सरकारको गियर चेन्ज गर्ने बताउनुभएको थियो । 

त्यतिबेला पनि प्रचण्डको अभिव्यक्तिको कुनै असर परेन । त्यसपछि केही महिना सरकारका बारेमा बोल्न छाड्नुभएका प्रचण्ड फेरि फागुन २८ मा विराटनगर पुगेर मन्त्री फेर्ने कुरा गर्न भ्याउनुभयो ।   

त्यो बेला त अध्यक्ष प्रचण्डले आफ्नो र प्रधानमन्त्री ओलीबीच मन्त्री फेर्ने विषयमा छलफल नै भैसकेको बताउन भ्याउनुभयो । त्यति मात्रै नभई अबको केही दिनमा त्यसबारे निर्णय नै हुने पनि उहाँले बताउनुभयो । तर त्यसको केही दिनपछि विराटनगर नै पुग्नुभएका प्रधानमन्त्री ओलीले प्रचण्डको भनाइको खण्डन गर्नुभयो ।   

त्यसपछि पनि अध्यक्ष प्रचण्डले बेलाबेलामा मन्त्रिपरिषद् हेरफेर हुने बताउँदै आइरहनुभएको छ । गृहनगर चितवन पुगेको बेला होस् वा भैरहवा, जहाँ पुगे पनि मन्त्रीहरु हेरफेर गर्ने भनेर अभिव्यक्ति दिन भ्याइहाल्नुहुन्छ । मन्त्री फेर्ने भनेर अध्यक्ष प्रचण्डले दिने अभिव्यक्ति पछिल्लो समय मजाक बन्ने गरेको छ । 

पछिल्लो पटक गएको बिहीबार पोखरा पुग्नुभएका अध्यक्ष प्रचण्डले त्यहाँ पनि सरकारमा सामेल मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्रीसँग छलफल भएको बताउन भ्याउनु भयो । ‘बजेट पारित भएपछि मन्त्रिमण्डल हेरेफेर हुन्छ, प्रधानमन्त्रीसँग यसबारेमा कुरा भइसकेको छ,’ उहाँले भन्नुभयो ।  

अध्यक्ष प्रचण्डले बारम्बार मन्त्री फेरिने भन्दै अभिव्यक्ति दिँदा कतिपय मन्त्रीको मनोबल घट्ने गरेको सत्तारुढ दलकै नेताहरु बताउँछन् । केही समय अघि उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट बिदा लिने तयारीमा नै देखिनुभएको थियो । मन्त्री फेरिने हल्ला चलेपछि कर्मचारीले समेत अटेर गर्ने गरेको गुनासो उहाँले सार्वजनिक कार्यक्रममा नै गर्न भ्याउनुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको चौमासिक मूल्यांकनमा समेत लक्ष्य अनुसारको काम गर्न नसक्ने मन्त्रीको बिदाई गर्ने भन्दै अनुगमन अगाडि बढाउनुभएको थियो । 

मन्त्रीहरुको कामको अनुगमन गर्न सफ्टवेयर नै जडान गरिएको थियो । सफ्टवेयरबाट भएको अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलगायतले लक्ष्य अनुसारको काम गर्न सकेका थिएनन् । पछिल्लो समय सफ्टवेयरबाट मूल्यांकन गर्ने चर्चा सेलाइसकेको छ । 

गएको फागुन १७ गते हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भए पनि अझैसम्म त्यो मन्त्रालयमा अर्को मन्त्री नियुक्त गरिएको छैन । प्रधानमन्त्री आफैँले अहिले त्यो मन्त्रालय सम्हालिरहनुभएको छ ।

‘भिजन २०२०’ नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीलाई पर्यटन मन्त्री नियुक्त गर्नैपर्ने दबाव छ । तर पार्टीकै अर्का अध्यक्ष एवं सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति नबन्दा मन्त्री चयन तथा हेरफेर हुन सकिरहेको छैन । त्यसबारे अहिले नै कुनै निर्णय हुने अवस्था पनि नरहेको प्रधानमन्त्री सचिवालयको दावी छ ।    

पार्टीका केही नेता भने अध्यक्ष प्रचण्ड सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भनेर लाग्नुपर्नेमा मन्त्री परिवर्तनको हल्ला गर्दै हिँड्नु उचित नहुने बताउँछन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड पार्टीमा समान हैसियतमा हुनुहुन्छ,’ उनले भने, ‘बाहिर हल्ला गर्नुको साटो दुवैजना बसेर निर्णय गरे त भइहाल्यो नि, बाहिर हल्ला गर्दै हिँड्दा पार्टीकै छविमा पनि नकारात्मक असर परेको छ ।’

बारम्बार मन्त्री फेरिने हल्ला गर्नु र कहिले अबको डेढ वर्षपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ भन्दै हिँड्नुले अस्थिरता निम्त्याउने भएकाले यसबारेमा पार्टीभित्र छलफल गरेर निर्णय गर्न नेताहरुले सुझाव दिएका छन् । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया