नाच्न र गाउन पाउँदा रमाए भाेजपुर कारागारका बन्दी

 असार १३, २०७६ शुक्रबार १३:४८:८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – ‘मेरो घर छैन, म कहाँ जाउँ, म यहीँ बस्छु, बाहिर गए मलाई हेलाँ गर्छन्, ढुंगा हान्छन्’... नाटक सुरु हुन्छ । 

यी माथिका नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा बन्दी जीवन बिताइरहेकी षडानन्द नगरपालिका-८ तुंगेछाकी अस्मिता तामाङ्गको आँखाबाट आँसु झरे, तामाङले धेरै पटक आासु रोक्न खोजिन् तर सकिनन् । अस्मिताले बन्दी जीवन बिताउँदा पनि कारागारभित्र मनोरञ्जन गर्न पाइएला भनेर सोचेकी पनि थिइनन् ।

तर कारगारभित्र नाच्न पाउने अवसर पाएपछि उनी निकै खुशी देखिन्थिन् । उनीसँगै पुर्पक्षका लागि थुनामा रहेकी सुर्खेतकी लक्ष्मी ठकुरीलाई पनि बाहिर खुला ठाउँमा भएजस्तो लाग्यो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मानवअधिकार प्रबर्द्धनका लागि सचेतनामूलक कार्यक्रम अन्तर्गत जिल्ला कारागार बन्दीहरुको बीचमा कार्यक्रम गरेको हो । हंसवाहिनी फिल्मस् प्रोडक्सन प्रा.लि.को संयोजनमा भएको कार्यक्रममा कारागारमा रहेका बन्दीहरुको मानवअधिकारको विषयमा जानकारीका साथै प्रहसन र साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । 

कलाकारहरुको साथमा रहेको टोलीले सांगीतिक कार्यक्रम प्रस्तुति गर्दा बन्दीबन्दीहरु पनि सँगसँगै नाचेका थिए । कारगारमा बन्दी जिवन बिताउँदाको पीडालाई एकैछिन थाँती राख्दै उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । 

भोजपुर कारागारमा दैनिकजसो संगीत सिक्ने र सिकाउने काम भैरहेको बन्दी कृष्णप्रसाद राईले बताए । उनीहरुले गितार, तबला र हार्माेनियमको माध्यमबाट संगीत सिकिरहेको बताए । प्रदेश-१ मा रहेको सबै कारागारहरुमा रहेका बन्दीहरुको जीवनमा सकारात्मक सोचको विकास हुन सकोस् र पछि समाजमा गएर राम्रो काम गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक कृष्णप्रसाद नेपालले बताउनुभयो । 

कार्यक्रममा गायिका गंगा गौतमले पुराना तथा नयाँ पूर्वेली लोक भाकाका गीत प्रस्तुत गर्नुभएको थियो । रोहिता भट्टराई, कल्पना पाण्डे, शिव भट्टराई (भोजपुरे), सुष्मा तिमल्सिना, ओम बस्नेत, निशु बस्नेतलगायतले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए । 

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले यस्ता कार्यक्रमले बन्दीबन्दीलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । 

जिल्ला कारागार भोजपुरमा हाल ९४ जना बन्दीबन्दी रहेका छन् । जसमध्ये ८५ जना पुरुष र ९ जना महिला रहेको जेलर खगेन्द्र अधिकारीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया