हाम्रा मित्रहरुबाट ‘एक्स्ट्रा डिप्लोमेटिक एक्टिभिटिज’ नहोस् भन्ने चाहन्छौँ: प्रधानमन्त्री ओली

 असार १४, २०७६ शनिबार २०:५२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराउनुभएको छ । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार काठमाण्डौमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपालको सार्वभौमिकता माथि नै आँच आउने क्रियाकलाप नहोस् भन्ने आफूले चाहेको बताउनुभयाे । कुनै पनि देश अरु देशबाट हेपिन नचाहने उल्लेख गर्दे उहाँले नेपालले पनि त्यस्तो नहोस् भन्ने चाहना राख्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि राष्ट्र वास्तवमा हेपिन चाहँदैन । हेपिन मान्दैन । हामी पनि हेपिन चाहँदैनौँ  । सार्वभौम राष्ट्रका अर्थ र मर्महरुको सम्मान होस्, एक्स्ट्रा डिप्लोमेटिक एक्टिभिटिज हाम्रा मित्रहरुबाट कसैबाट पनि नहोस भन्ने चाहन्छौ । ताकि हाम्रो सोभरेन्टी वा नेशनल प्राइडलाई अण्डरमाइन गरेको हामीले महसुस गर्नुपर्ने स्थिति नहोस्,त्यो हामी चाहन्छौँ ।’

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रनीति निर्माण र सञ्चालनमा यथासम्भव साझा दृष्टिकोण बनाई अघि बढ्दा छिमेकी मुलुक लगायत विश्व समुदायको सद्भाव र सहयोग प्राप्त भई देश विकासको गतिलाई तीव्रता दिन सहज हुने बताउनुभयो ।

कार्यक्रममा आर्थिक कुटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरु, परिर्वतित भू–राजनीति, जलवायु परिर्वतन तथा श्रम आप्रवासका नवीन चुनौती र क्षेत्रीय तथा बहुपक्षीय मामिलाका विषयमा छलफल गरिएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया