सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्ब छुट्याउनु आपत्तिजनक: नेता रावल

 असार १५, २०७६ आइतबार १५:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको छ । 

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क गर्नुभयो ।

आइतबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको बताउनु भयो । 

सरकारले उक्त फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाण्डौमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाउनु भयो ।

उहाँले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने धारणा राख्नुभयो ।

त्यस्तै नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको दावी छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया